खेलकुदमा बेग्लै पहिचान बनाउन प्रयासरत जिल्ला

kailaliइतिहासको कालखण्डमा नयाँ मुलुक भनेर चिनिएका बाँके, बर्दीया र कञ्चनपुरसँगैको एउटा जिल्ला । ४५ गाविस र दुई नगरपालिका । मुख्य रूपमा थारू प्रभावित क्षेत्र । गर्मी र असहज जीवन भएका कारण आसपासका अन्य पहाडी जिल्लाभन्दा उपेक्षित ।
कैलालीलाई खेलकुदको रमझमले छोएको थिएन । यसकारण पनि कैलालीले खेलकुदमा आफ्नो प्रभाव छाड्न सुदुरपश्चिमको एउटा व्यापारिक केन्द्रको रुपमा आफूलाई स्थापित गराउन आवश्यक थियो । सुदुरपश्चिमका अन्य ९ जिल्लाका लागि पनि केन्द्र बनेको र काठमाडौ आउने नाका बन्दै गएपछि पहाडी जिल्ला, बैतडी, डँडेल्धुरा, बझाङ, बाजुरालगायत स्थानबाट बसाइँ सराइ गर्ने क्रममा पछिल्लो समय कैलालीको जनघनत्व घढ्दै गएको हो ।
यसरी जनघनत्व बढ्ने क्रममा ४० को दशकमा अन्य क्षेत्रबाट बसाईं सरेका मूल रुपमा पहाडी मुलका व्यक्तिबाटै कैलालीमा खेलकुदले प्रवेश पायो । ४० को दशकमा भलिबल र भारत्तोलनलगायतका खेल मात्र चर्चामा रहेको यस जिल्लामा ५० कै दशकमा उसुले प्रबेश पायो । कैलालीमा परापूर्वकालदेखि रहँदै आएका चौधरी समुदायमा यस खेलले व्यापकता पायो । त्यसपछि नै कैलालीको खेलकुदले माथिल्लो उचाइ समेत प्राप्त गर्‍यो ।
अन्य आम नेपाली महिलाभन्दा पनि पछाडी रहेका कैलालीका महिलामा ५० को दशकको सुरुमा केही खुकुलोपन देखियो । पूर्वर्ी क्षेत्रबाट त्यहाँ पुग्ने महिलाकै कारण त्यो परिवर्तन भएको जनाइन्छ । त्यसपछि कैलालीका महिलामा खेल क्षेत्रप्रति चासो बढ्दै गयो ।
५० को दशकको मध्यमा आएको यो परिवर्तनसँगै छिटै यसको प्रभाव बाहिर पनि देखियो । ०५७ मा भएको राष्ट्रिय महिला फुटबलमा कैलाली उप–विजेता बनेको थियो । फुटबल, भलिबल र उसुमा प्रभावकारी रहेको कैलालीमा पछिल्लो समय एथलेटिक्सको राम्रो सम्भावना छ । संयोगबस यी सबै खेलमा पछिल्लो पुस्तामा आइपुग्दा चौधरी समुदाय अगाडि छ ।
कम चिल्लो र कम मसालेदार खाने कुरा खाने भएका कारण शारिरिक रुपमा प्राप्त तन्दुरुस्ती नै उनीहरुको सफलताको पहिलो कारण भएको कैलालीवासी बताउँछन् ।
साथै परापूर्वकालदेखि खेतीबारीमा रमाउने र मिहनेत गर्ने परम्परागत संस्कार भएका चौधरी समुदाय प्रशिक्षणमा पनि सिन्सियर हुन्छन् । यसैकारण क्याम्पमा रहँदाको समयमा उनीहरूको ‘प्रोग्रेस रेट’ बढी छ ।
छोटो समयमा प्राप्त यो सफलता र उपलब्धिका बाबजुद कैलालीको समाजीक र औद्यौगिक क्षेत्रको भने खेलकुदमा खासै ठूलो भूमिका छैन । ठूला अन्तराष्ट्रिय प्रतियोगिता नहुने यस जिल्लामा औद्योगीक क्षेत्रले सहयोग नगरेका कारण नै त्यस्ता प्रतियोगिता सम्भव नभएको स्थानिय बताउँछन् । सबैभन्दा ठूलो अन्तराष्ट्रिय प्रतियोगिताको रूपमा गोजुरियो कराँते सम्पन्न हुने गरेको छ, साथै सेवा नर्सिङ होमले गरेको एक लाखको प्रायोजन नै सम्भवत: निजी क्षेत्रले खेलका लागि यहाँ गरेको ठूला राशीको सहयोग हो ।
प्रशासनिक निकाय, सञ्चार र राजनीतिक नेतृत्व कैलालीको खेलकुदका बारेमा अत्यन्त मौन छन् । राजनीतिक र सामाजिक नेतृत्वमा रहनेका लागि यहाँका उपलब्धिको सामान्य हेक्कासमेत छैन ।
निजी क्षेत्रबाट दुई खेल एकडेमी सञ्चालित छन् । धनगढी क्रिकेट एकेडेमी प्रतियोगिता आयोजना गर्न र व्यापक प्रचारप्रसार गर्न व्यस्त छ । तर, साइनिङ सन फुटबल एकेडेमीले स्थापनाको पाँच बर्षमा छुट्टै प्रभाव देखाएको छ । गत बर्ष भएको महिला राष्ट्रिय लिगमा सेमिफाइनलमा पुगेको कैलालीको टोलिमा यसै एकडेमीका १६ जना थिए । यसैगरि महिला राष्ट्रिय लिगमा यसै एकडेमीका १४ खेलाडी सुदुरपश्चिमको टोलिमा थिए । सुदुरपश्चिमले पाचौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक जित्ने क्रममा निजी स्तरमै सञ्चालित विजय स्पोर्टिङ् क्लबको भूमिका महत्वपूर्ण थियो ।
–मन घिमिरे

प्रतिक्रिया