चुनाव प्रचारमा भारतीय गाडी प्रयोग

परासी, २४ असोज । नवलपरासीमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आफ्नो प्रचारप्रसारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको पाइएको छ । सानादेखि ठूला दलका अधिकांश उम्मेदवारले भारतीय सवारीसाधनमा पार्टीको झन्डा हाली प्रचारप्रसार गरेको पाइएको हो ।
चुनाव प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका सवारीसाधन बढी प्रयोग हुन थालेपछि निर्वाचन अधिकृतको कार्यालयले हरियो प्लेट अनिवार्य गरेको छ । सुरक्षाको दृष्टिकोणले पनि भारतीय गाडी चुनौती बनेकाले नवलपरासीमा सुरक्षा निकायको अनुरोधमा निर्वाचन अधिकृतको कार्यालयले हरियो प्लेट अनिवार्य गरेको हो । सुरक्षा व्यवस्था सजिलो बनाउनका लागि उम्मेदवारले प्रयोग गर्ने भारतीय नम्बरको गाडीमा हरियो प्लेटको नम्बर राख्न अनिवार्य गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भारतबाट ल्याइएको गाडीलाई व्यक्तिगत सुविधा काटेर ल्याएको गाडीमा झन्डा राखेर प्रचारप्रसार कार्य गर्न नमिल्ने भएकाले कानुनअनुसार भन्सार तिरेर हरियो प्लेट राख्नुपर्ने मुख्य अधिकृत विष्णुप्रसाद कोइरालाले बताए  । उहााका अनुसार त्यसका लागि उम्मेदवारलाई जानकारी गराइ सकिएको छ ।
निर्वाचनको कार्यसूची प्रकाशित भएदेखि नैं अधिकांश मधेसवादी दललगायत केही अन्य दलका उम्मेदवारले पनि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई प्रचारमा प्रयोग गरेका छन् । जिल्ला सदरमुकाम परासीलगायत सीमावर्ती क्षेत्रमा ३० भन्दा बढी भारतीय सवारीसाधन प्रचारमा प्रयोग भएका छन् ।

प्रतिक्रिया