‘थातथलो’ छाड्दै मुक्त हलिया

Haliaअसमयमै बूढा देखिन थालेका ४५ वर्षीय करे भुल (सार्की) वर्षौंदेखि साहुमहाजनकहाँ हलिया काम गर्दै आएका थिए । उनी सरकारले पुस्तौँदेखि साहुमहाजनको घरमा काम गर्दै आएका हलियालाई मुक्त भएको घोषणा गरेपछि औधी खुसी भएका थिए । सरकारले हलिया मुक्त घोषणा गरेपछि दुईछाक राम्रोसँग खान र मन लागेको काम गर्न पाउने आस पनि थियो उनलाई । तर, सरकारले कागजमा मात्र मुक्त भएको घोषणा गरेर पुन:स्थापनाका लागि कुनै ठोस पहल नचालेपछि भने करेलाई अहिले झन् बढी सास्ती भएको छ ।

करे १५ वर्षको उमेरदेखि नै आºनो जीवनका तीन दशक बैतडी जिल्ला श्रीकोट गाविसका कृष्ण चन्दको हलिया भएर दिन बिताउँदै आएका थिए । बुबाले बाचुन्जेल तथा करेले ३० वर्षसम्म बाजेले कृष्णका पुर्खाबाट लिएको ऋणको ब्याजबापत कृष्णको घरमा अपमानित भएर काम गर्न बाध्य हुनुपरेको थियो ।
यसैबीच, पाँच वर्षअघि (०६५ भदौ २१) नेपाल सरकारले साहुमहाजनबाट लिएको सम्पूर्ण ऋण मिनाहासहित कसैले पनि हलिया राख्न नपाउने घोषणासहित हलिया मुक्त भएको घोषणा गर्‍यो । पुस्ताँैपुस्तादेखि चलिआएको सामन्ती प्रथाको अन्त्यसँगै मुक्त हलिया अब आफ्ना पनि दिन आएको भन्दै औधी खुसी भए । तर, मुक्त भएको घोषणासँगै करेजस्तै धेरैजसो हलिया घर न घाटको पो हुन पुगे कञ्चनपुर जिल्ला दैजी गाविस–४, सार्कीटोलका राजुराम सार्कीले भने ।
सार्कीटोलमा हाल २१ घरपरिवार मुक्त हलिया छन् । यो टोलमा बस्ने सबै बैतडी जिल्लाको श्रीकोट र गुरुखोला गाविसबाट ०४५ सालतिर बसाइँ सरी आएका हुन् । उनीहरू सरकारले मुक्त घोषणा गरेपछि खुसी र दु:खी दुवै भएका छन् । बाह्रै महिना साहुमहाजनको घरमा काम गरेर अलि–अलि भए पनि हातमुख जोर्न पुगेका उनीहरूलाई आजकाल (मुक्त घोषणापछि) भने सिंगो समाज नै बिचल्लीमा परेको महसुस हुन थालेको छ ।
सरकारले हलिया मुक्त घोषणा गर्‍यो । साहुमहाजनले काम लगाउन छाडे । सरकारले हेरेनन् । आºनो थाकथलो थिएन । दैनिक जीवन गुजारा गर्न धौधौ भएपछि करे एक वर्षअघि सुटुक्क पाँच जनाको परिवारसहित एकाएक सार्कीटोलबाट सम्पर्कविहीन भए । उनी र उनको परिवार ज्यूँदै छन् कि मरिसके छिमेकीलाई अत्तोपत्तो छैन ।
करे त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यो टोलबाट हलियामुक्तसँगै हालसम्म १० घरपरिवार सम्पर्कविहीन भइसकेको राजुरामले बताए । कागजी रूपमा त घोषणा गर्‍यो । पुन:स्थापनातिर सरकारले कुनै ध्यान दिएन । वर्षौंदेखि बस्दै आएको गाउँमा भोकभोकै मर्नुभन्दा उनीहरू भारत तथा अन्यन्त्र कतै गएर बसेको हुन सक्ने राजुराम अड्कल गर्छन् । उनी भन्छन्, ‘वर्षौंदेखि एकै गाउँ–ठाउँमा बसेर मर्दा मलामी, पर्दा जन्ती भएर हाँसखेल गरेका दाजुभाइ एकाएक छाडेर जाँदा मन भक्कानिएर आउँछ ।’
साँझ–बिहानको छाक टार्न समस्या भएर परिवारसहित गएका आफन्तजन कुन ठाउँमा ? कस्तो हालतमा छन् ? भनेर नेपाल तथा भारतका सम्भावित ठाउँमा खोजबिन गर्‍याँै तर कहीँ नभेटाएको सार्कीटोलकी बयोबृद्धा सुन्तली भुलले बताइन् ।
पछिल्ला दिनमा मुक्त हलियालाई राज्यले तत्काल गर्नुपर्ने न्यूनतम गाँस, बास र कपासको व्यवस्थातिर ध्यान नदिँदा मुक्त हलिया पुस्तौँदेखि बस्दै आएको थातथलो एक पछि अर्को गरी छाडेर जाने क्रम बढेको छ ।
घरमै बसौँ भने खेतीपाती गर्ने जग्गाजमिन छैन । केही व्यापार व्यवसाय गरौँ भने पुँजी तथा सीप छैन । अनि मन नहुँदा नहुँदै पनि वर्षौंदेखि बस्दै आएको गाउँ–ठाउँ तथा दाजुभाइ छाडेर जानुको विकल्प नरहेको टोलका नरेश सार्कीको बुझाइ छ । उनी भन्छन्, ‘अरूको भरोसा गरे पनि सरकार (राज्य) र सरक (आकाश)को कहिल्यै भर पर्नु हँदैन रहेछ । नेपाल सरकारले मुक्त गर्‍यो तर कुनै वैकल्पिक व्यवस्थाबारे सोचिदिएन । यता, घरनजिकै भएर बग्ने चौधारा नदीको बर्सेनि कटानले टोलकै उठीबास लाग्ने अवस्था छ ।’
राज्यले पाँच वर्ष बितिसक्दा पनि मुक्त हलियालाई पुन:स्थापनाको कुनै ठोस कार्यक्रम तथा नीति नल्याउँदा हलिया मुक्तिपछि थप कष्ट भएको राजुरामको भनाइ छ ।
मुक्त हलिया पुन:स्थापना तथा अनुगमन कार्यदलका संयोजक हरि श्रीपाइलीले परिचयपत्र वितरण तथा प्रमाणीकरणको काम भइरहेको जानकारी दिए । उनले हलिया मुक्त पछि पुन:स्थापना तथा दैनिक छाक टार्न समस्या परेको स्वीकार गर्दै परिचयपत्र वितरण तथा प्रमाणीकरणको काम असोज मसान्तसम्म सम्पन्न हुने र त्यसपछि पुन:स्थापनाको काम अघि बढ्ने बताए ।

प्रतिक्रिया