बिके पाल्पालीलाई त्रिमूर्ति पुरस्कार

B-K-Palpaliत्रिमूर्ति निकेतनबाट साहित्यकार बिके पाल्पालीलाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरिएको छ । राजधानीको कोटेश्वरमा आयोजित एक कार्यक्रममा पाल्पालीलाई ताम्रपत्रसहित नगद पुरस्कार राशि २५ हजार रुपियाँबाट सम्मान गरिएको हो । कार्यक्रममा सहभागी हुन नसकेका पाल्पालीलाई उनकै डेरामा नै उक्त पुरस्कार प्रदान गरिएको त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसार्इंले जानकारी दिए । नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरी, त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इं र कोषाध्यक्ष उषा शेरचनले पुरस्कार प्रदान गरेका थिए । ३८ वर्षीय पाल्पालीका कविता, उपन्यास, दर्शन, जीवनी गरेर नौवटा कृति प्रकाशित छन् । उनले दुई दशक पत्रकारितामा पनि बिताएका थिए । दुवै मिर्गौलाले क्रमश: काम गर्न छाडेकाले पाल्पाली अहिले बोल्न नसक्ने अवस्थामा छन् । हाल उनलाई मधुमेह र उच्चरक्तचापको समस्यासमेत थपिएको छ । पाल्पालीको उपचार नेपालमा हुन नसक्ने ठहर गर्दै उपचारार्थ उनलाई चाँडै मुलुकबाहिर लान चिकित्सकले सुझाव दिएको प्रसार्इंले जानकारी दिए । आर्थिक अभावका कारण साहित्यकार पाल्पालीलाई तत्काल देशबाहिर लान नसकिएको परिवारले बताएको छ । (सौस)

प्रतिक्रिया