पत्रकार पाल्पालीको उपचारका लागि डकुमेन्ट्री प्रदर्शन

Documentary_The Brave Sisterकाठमाडौ, २२ असोज ।  दुईवटै मिर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारका लागि एक लाख रुपियाँ संकलन भएको छ । सोमबार काठमाडौंमा सावित्री श्रेष्ठको कथामा गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री बहादुर बहिनी प्रदर्शन गरेर एक लाख रुपियाँ संकलन गरिएको हो ।

काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा गरिएको च्यारिटी सोमा विभिन्न व्यक्ति तथा संस्थाले स्वच्छिक सहयोग गरेका थिए । कार्यक्रममा क्वालिटी ग्रुपका सञ्चालक होमकुमार श्रेष्ठले ४२ हजार ६ सय प्रदान गरे ।
यसैगरी, न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठले गणेश—उज्जन (भुवन) स्मृति प्रतिष्ठानबाट प्रकाशित पीडाका ५००० दिन नामक पुस्तकको बिक्रीबाट प्राप्त २५ हजार ५ रुपियाँ प्रदान गरिन् । प्रेस चौतारी उपत्यका कमिटी र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि १०/१० हजार रुपियाँ प्रदान गरे । बाँकी रकम भने डकुमेन्ट्रीका दर्शकबाट प्राप्त भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिमिल्सिनाले पत्रकार पाल्पालीको उपचारका लागि पत्रकार महासंघले सहयोग गर्ने बताइन् । यसैगरी, कलाकार भुवन केसीले आफ्नो चलचित्रको च्यारिटी सो गरेर पत्रकार पाल्पालीका लागि उपचार खर्च जुटाउन पहल गर्ने घोषणा गरे । त्यसैगरी, एनआरएनका महासचिव तेन्जी शेर्पाले एनआरएनका तर्फबाट पनि रकम संकलनका लागि पहल गर्ने बताए ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा पाल्पालीकी धर्मपत्नी समेत रहेकी पत्रकार रेणुका भट्टराईले आँसु झार्दै सहयोगका लागि अनुनय गरेपछि सबैका आँखा रसाएका थिए । पत्रकार पाल्पालीलाई बुधबार उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने कार्यक्रम छ । सावित्री श्रेष्ठले आफ्ना भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्नलाई कारबाही दिलाउन गरेका संघर्ष, न्यायिक लडाइँलाई समेटिएको डकुमेन्ट्री ४० मिनेटको छ ।

प्रतिक्रिया