खोजखबर

अहिलेको राजनीति कसैको नियन्त्रणमा छैन

सौर्य अनलाइन २०७० असोज २१ गते २:४५ मा प्रकाशित

Surya bd Thapaनेपालको राजनीतिमा अनुभवी एवं चतुर खेलाडीको परिचय बनाएका पुराना र पाका नेता हुन् सूर्यबहादुर थापा । थापाले युवा अवस्थादेखि नै लामो समय नेपालको राज्य सत्ताको बागडोर सम्हाले । ३० वर्षे पञ्चायती व्यवस्थामा उनी दरबारका निकट मानिन्थे । पटक–पटक भएको परिवर्तनको आन्दोलनमा उनले सत्तासिनको हैसियतले स्वभाविक तबरबाट निरन्तर हस्तक्षेप गर्दै रहे । तर, ०४६ को परिवर्तनसँगै आफू निकटका पूर्वपञ्चहरूलाई समेटेर उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोले । यतिबेला परिवर्तित व्यवस्थासँगै हिँडेका उनी देशको वर्तमान अवस्थाबाट सन्तुष्ट छैनन् । थापाको भोगाइ र वर्तमान अवस्थाबारे सौर्य दैनिकसँग भएको संवाद :
राजनीति राष्ट्रको हितमा हुने गरी जनताको लागि गरिनु पर्ने हो । तर, यहाँ जनता र राष्ट्रको हितमा भन्दा सबै पार्टीहरू निर्वाचन मुखी भएका छन् । कसरी चुनाव जित्ने र सत्तामा जानेमा सबैको ध्यान छ । सरकारमा जान पाए जे पनि गर्ने मानसिकतामा छन् नेताहरू । त्यसैले, अहिलेको राजनीति कसैको नियन्त्रणमा छैन । वास्तवमा, पहिलो प्राथमिकता राष्ट्र र जनता हो । राष्ट्रको हित कसरी गर्ने, जनतालाई सेवा कसरी दिने भनेर योजना बनाउने मा भन्दा कसरी निर्वाचनमा विजयी हुने भन्नेमा सबैको ध्यान गएको छ । यति बेलाको राजनीतिलाई म निर्वाचन मुखी राजनीति भन्दछु ।
नेपालको आफ्नै ऐतिहासिक पृष्ट भूमी छ । इतिहासलाई बिर्सेरअगाडि बढिन्छ भनेर सोच्नु हुँदैन । यति बेला त्यही बितेको इतिहासलाई फर्केर हेर्ने हो र वर्तमानलाई महसुस गर्ने हो भने लाग्छ, देश यो अवस्थाबाट धेरैअगाडि बढ्नु पर्ने हो । सबै क्षेत्रमा देशले लामो फट्को मारेर प्रगति गरेको हुनुपर्ने थियो । तर, हामी उही अवस्थामा छौँ । जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । परिवर्तन राजनीतिमा मात्र खोज्नु हुँदैन, जनताको जीवनमा हामीले के कति परिवर्तन ल्याउन सक्यौँ त्यो पनि हेर्नु पर्छ । जनताका लागि गरीने राजनीतिले जनतालाई के दियो सोच्नु पर्छ । देशको समग्र क्षेत्र हेर्दा वर्तमान राजनीतिले सन्तोष दिने ठाउँ छैन । राष्ट्रले जुन गतिमा प्रगति गर्नु पर्ने थियो गर्न सकेको छैन । राष्ट्रका लागि भन्दा दलका नेताहरू निजी स्वार्थमा केन्द्रित छन् ।
०००
यतिबेला राजनीतिमा बेथिति देखिएको छ । जब राजनीति गर्ने व्यक्तिहरूमा कमी कमजोरी देखिन्छ त्यति बेला मुलुकमा बेथिति देखिन्छ । मलाई लाग्छ यो राजनीतिमा आएको कमजोरीले हो । देश चलाउने व्यक्तिहरूमा कमीकमजोरी आउँदा स्वभाविक रूपमा देश अन्योलमा रूमलिन्छ । देशले लिनु पर्ने गति लिन सक्दैन । नेपाल यति बेला रनभुल्लको अवस्थामा गुिज्रएका छौँ । राजनीतिमा प्रष्ट भएन भने जनतामा अन्योल छाउँछ । वर्तमान राजनीतिक नेतृत्वले गति दिन सकेको छैन । जनतामा अन्योल छ, नेताहरू प्रष्ट छैनन् । यस्तो अवस्थामा राष्ट्र कता जान्छ, मुलुकले कस्तो दिशा लिन्छ, सबैले चनाखो भएर हेरेका हुन्छन् । त्यसैले नेताहरूले जनताको भावनालाई बुझेर प्रष्टसँग काम गर्नु पर्छ ।
जबजब देशमा समस्या आउँछ, नेपालको राजनीतिमा दोष जति अरूको टाउकोमा थोपर्ने प्रवृत्ति छ । त्यो गलत हो, राजनीतिमा जस मात्र हैन अपजस पनि लिन सक्नु पर्छ । जब राजनीतिमा जस मात्र खोज्न थालिन्छ त्यति बेला राजनीतिक नेतृत्व असफल हुँदै जान्छन् । नेपालको राजनीतिमा यो घातक पक्ष हो ।
समय र परिस्थितिका कारण लामो समय सरकार सञ्चालन गर्ने अवसर प्राप्त गरेँ । छिमेकी को नाताले भारत र चीनको राजनीतिक उचार चढाव हेर्ने र बुझ्ने मौका पाएँ । राजनीति घटना क्रममात्र हैन, उनीहरूले गरेको सामाजिक, भौतिक एवं आर्थिक प्रगतिनजिकबाट हेर्ने अवसर पाएँ । उनीहरूले धेरै विकास गरे तर हामी कुन अवस्थामा छौँ, मैले भनिरहनु पर्दैन । हामी आन्तरिक द्वन्द्वमा र आरोप प्रत्यारोपमा रमायौँ । आफूले देश सञ्चालन गरेको अवस्थाभन्दा अहिलेको अवस्था चमत्कारी रूपमा विकास भए जस्तो लाग्दैन । विकास आफू र आफ्ना लागि हैन जनतका लागि गर्ने हो । जनताले के पाए Surya-Bahadur-Thapaउनीहरूले मूल्यांकन गर्ने छन् ।
नेपाली जनताको सोचाइ हेर्ने हो भने देश सबैले मिलेर चलाउन् भन्ने मानसिकता रहेको पाइन्छ । जसले जति घमण्ड गरेर एकल नेतृत्वको चाहना गरे पनि एकल नेतृत्वले राष्ट्रको आमूल परिवर्तन गर्न सक्ने अवस्था देखिँदैन । उति बेला पनि हामीले संयुक्त नेतृत्वको आधारमा काम गर्‍यौँ । नेपालको राजनीति, सामाजिक बनोट, जनताको मानसिकता र विकास क्रमलाई हेर्ने हो भने । कुनै पनि पार्टी वा व्यक्ति एक्लैले सबै काम गर्ने अवस्था छैन । सायद यो हाम्रो राजनीतिक बाध्यता पनि होला । जनताको चाहना पनि त्यस्तै देखिन्छ सबै मिलेर साझा धारणाको आधारमा देश चलाउन् भन्ने । सायद त्यसैले होला नेपालको परिवर्तित राजनीतिमा जनताको जनमत सबैलाई समेटनु पर्ने बाध्यात्मक रूपमा आउने गरेको छ । वर्तमान अवस्थालाई नजिकबाट हेर्ने हो भने बुझन सकिन्छ देश सबैको हो, सबै मिलेर सामूहिक रूपमा सञ्चालन गर्नु भने जस्तै ।
०००
नेपालको राजनीतिमा बेलाबेला आरोप लाग्ने गर्छ वैदेशिक हस्तक्षेप भयो । नेताहरू विदेशीका इसारामा काम गर्छन् भनेर । हामी आफँैले बुझनु पर्छ, यस्ता आरोप किन खेप्दैछाँै हामी राजनीतिमा । देशभित्र हुने परिवर्तन वा निर्णायक अवस्थामा सबै निर्णय आफँै किन गर्दैनाँै ? सबै निर्णय आफैँले गर्ने हो भने यस्ता आरोप नआउन सक्छन् । मैले यो मामलामा नेताहरूमा कमी रहेको देख्छु । सायद हाम्रो क्षमता आफ्नो निर्णय आफँै गर्न सक्ने गरी विकास नभएर हो कि ? आफ्नो देशको योजना बनाउन किन अरूलाई सोध्ने ? राम्रो कुरा हेरेर पनि सिक्न सकिन्छ । साना तिना समस्यामा आफैँ विदेशी गुहार्ने अनि फलानो कस्को इसारामा चल्यो भन्दै आरोप लगाउने प्रवृत्ति छ । को कसरी चलेको छ, नेपाली जनताले एक दिन मूल्यांकन गर्ने छन् । देशभित्र रहेका पार्टी र नेताहरूले एकले अर्कोलाई विश्वास र सहयोग गरेर जाने हो भने विदेशीको हस्तक्षेप वा इसाराको आरोपबाट हामी सबै मुक्त हुने छौँ । सायद त्यो क्वालिटीको नेता नै छैन नेपालमा । नेतृत्वमा जुन राजनीतिक नेतृत्वले आफ्नो हैसियत कामले देखाउने हो, गफले हैन ।
राज्य सञ्चालन गर्दा आइपर्ने समस्या र त्यसको चरित्र हिजो र आजमा धेरै भिन्न लाग्दैन, उस्तै छ । पञ्चायती व्यवस्थामा सरकार चलाउँदा त्यति धेरै समस्या व्यहोर्नु परेन । छिमेकी मुलुकबाट राम्रौ सहयोग हुन्थ्यो । कुनै दबाब वा विनाकारण सुझाव आउँदैन थिए । अहिले जस्तो कुन पार्टी कसको ‘एजेन्ट’ कसको इसारामा चल्दै छ भनेर आरोप खेप्नु परेन । कहिलेकाहीँ देशभित्रै हुने राजनीतिक उतार चढाबको दबाबको सामना भने गर्नु पर्‍यो । विश्व विकास र अन्तराष्ट्रिय राजनीतिमा आएको प्रभावले होला, हिजोको जस्तो सहज राजनीतिक अवस्था आज छैन । यो समयसँगै आएको राजनीतिक परिवर्तन हो । समय परिस्थितिसँगै आएको परिवर्तनलाई सबैले स्वीकार गरेर जानु पर्छ ।
मानवीय स्वभाव हो, हरेक मान्छेको आ–आफ्नो रोजाइ हुन्छ । म ८६ वर्षको उमेर पुगेको मानिसले युवा अवस्था मन पर्छ भन्न सकाँैला । तर, चाहेर युवा हुन सक्दिन । त्यस्तै, अहिलेको तुलनामा हिजोको पञ्चायती व्यवस्था ठीक थियो भन्नु त्यही युवा अवस्था मन पराए जस्तै हो जुन सम्भव छैन । कल्पना गरेर वा चाहेर बितेको समय र अवस्था फर्केर आउँदैन । किन कि समयको गतिसँगै राजनीति परिवर्तन हुन्छ त्यसलाई सबैले सम्मानका साथ स्वीकार गरेरअगाडि बढ्नु को विकल्प हुँदैन । समय सापेक्ष आएको परिवर्तनलाई स्वीकार गर्नु पर्छ । राजनीतिले समय–समय मा परिवर्तन ल्याउँछ त्यसको सम्मान गरेर जानु पर्छ, म पनि त्यसै गर्दै छु । दोस्रो संविभानसभाको निर्वाचनको समय जति नजिकिँदै छ, समय पनि साँघुरिँदै छ । निर्वाचनको प्रक्रियाअगाडि बढेको छ । हिजोको दिनसम्म निर्वाचन हुने नहुनेमा धेरैले शंका उपशंका गरेका थिए । हाम्रो पार्टीले पनि शंका उपशंकाकै बीचमा निर्वाचनको तयारी गरेर आएको हो ।
०००
जनतामा राजनीतिक वितृष्णा छ, अब मुलुकमा कस्तो परिवर्तन होला भन्ने । हिजो ठूलो आसा र भरोसासहित ‘म्यान्डेट’ दिएर पठाएका नेताहरू र पार्टीले त्यो म्यान्डेट पुरा गरेनन् । जनतको म्यान्डेट संविधान बनाउन थियो । तर, संविधान बनेन । दलहरू एक अर्काको कारणले गर्दा संविधान बनेन भनेर दोषारोपणमा भुले । आखिर संविधान बनेन । यो कारणले संविधान बनेन भनेर देखाउने आधार छैन । मुलुकमा कनै ठूलो घटना वा दुर्घटना भएर संविधान नबनेको हैन । दलको खिचातानी र राजनीतिक अलमलका कारण संविधान बनेन । राजनीतिक व्यक्ति भएको कारण संविधानसभाबाट संविधान नबन्दा द:ुख लाग्नु स्वभाविकै हो । तर, एतिहासले मूल्यांकन गर्ला वा नगर्ला, जो जो राजनीतिक रूपमा सक्रिय रह्याँै त्यो समयमा, सबै नै राजनीतिक घटनाक्रमको जिम्मेवार हौँ । म पनि एउटा पार्टीको प्रमुख भएको नाताले र सबै राजनीतिक घटनाको जिम्मेवारी लिन्छु । मैले मात्र हैन, सबै नेताले सफलता असफलताको जिम्मेवारी लिन सक्ने क्षमता देखाउनु जरुरी छ । राजनीतिमा दोष जति अरूको टाउकोमा, सफलता आफ्नो भागमा भन्नु राजनीतिको नाममा स्वार्थ हो ।
मुलुकको वर्तमान परिस्थिति कसैको नियन्त्रणमा छैन । चाहेर पनि सबैले चाहेको काम गर्न सक्ने अवस्था छैन । समयलाई सही रूपमा चिन्ने र पार्टी पंक्तिलाई परिचालन गर्ने सवालमा राजनीतिक व्यक्तित्वमा आएको कमजोरी हो यो । सँगै समयको सही रूपमा उपयोग गर्न नसक्नु पनि एउटा समस्या हो । समय सधँै एकनासले चल्दैन निश्चित समय मा काम गर्नु पर्छ । समयको गतिलाई बिर्सनु हुँदैन । यो अवस्थामा जनतालाई दोस दिने ठाउँ छैन । राजनीति भनेको गतिशील वस्तु हो, त्यस्लाई कसैले रोक्नुु हँुदैन । नेताहरूले सधैँ समयलाई चिनेर राजनीति गर्नु पर्छ, नत्र कोही सफल हँुदैन भने जीवनमा पाएको स्वर्णिम अवसरलाई गुमाउँछ र पछुताउनुबाहेक केही रहदैन । समयभन्दापछि परिन्छ । त्यसैले हामीले समयको सही रूपमा उपयोग गर्नु पर्छ । जनतको हितमा देशको माटो सुहाउँदो राजनीति गर्नु पर्छ ।
०००
संविधानसभाको निर्वाचन शान्ति पूर्णरूपमा हुन सकेन भने नेपालको राजनीतिले पुन: अर्को असफलता व्यहोर्नु पर्नेछ । आजसम्मको राजनीतिमा कहिल्यै असन्तुष्ट हुनु परेन । देश सञ्चालन गरेर असन्तुष्ट रहने अवस्था रहेन । यति बेलाको अवस्था हेर्दा लाग्छ मंैले चलाएको देशले के कति प्रगति गरेको थियो र यति बेला देशले कति प्रगति गरेको छ † विगत र वर्तमानलाई समीक्षा गर्दा असन्तुष्ट हुनु पर्ने कारण छैन । देश चलाउनु भनेको दैनिक आइपर्ने काम गर्नु मात्र हैन । कसैलाई लाग्ला, दैनिक आइपर्ने काम गर्नु दैनिक प्रशासन चलाउनु वा मन्त्रालय जानु नै देश चलाउनु हो । त्यो भ्रम त्यागनु पर्छ ।
देशमा आमूल परिवर्तन हुनेगरी ठूला आर्थिक राजनीतिक परिवर्तन भयो कि भएन त्यसलाई मूल्यांकन गर्नु पर्छ । बुद्धिजिवीको बीचमा यो विषय प्रश्न चिन्ह पनि बन्न सक्छ । दैनिक प्रशासन चलाएर दंग पर्ने प्रवृत्ति अन्त्य हुनु पर्छ । देशले गति लियो कि लिएन ? जनताको जीवनस्तरमा के कति प्रभाव पार्‍यो ? हेर्नु पर्छ । देश चलाउनु समग्र क्षेत्रको उत्तरदायीत्व हो । हिजो जुन व्यवस्थामा रहेर जनताको लागि सेवा गरियो, आज नेपालको अवस्था हेर्दा लाग्छ, मैले जे गरे त्यो बेला ठीक गरे । वर्तमानमा जे हुँदै छ त्यो पनि ठीकै हुँदै छ । छिमेकीहरूको प्रगति हेर्न वा बुझन सकेनौँ ।
०००
यो उमेरसम्म राजनीतिक कर्मीको नाताले सधँै देशको बारेमा सोचिरहेको छु । तर, समयको समीक्षा गरी रहदा सोच्थेँ ८० वर्षको भएपछि राजनीतिबाट बिदा लिनु पर्छ । हरेक मान्छेको शरीरले उमेरसँगै आराम पनि खोज्छ । आरामले बसौला रिटायर्ड हौँला भनेको थिए । प्रयास पनि नगरेको हैन तर सकिन । आराम गर्नु भनेको दिन भरी धुमधुम्ती बसेर खानु सुत्नु हैन । त्यसो गर्दा मान्छेमा झन चाँडै बुढैली लाग्छ । राजनीति गर्ने धेरै व्यक्तिहरू राजनीतिसँगै अरू पनि क्षेत्रमा लागेका हुन्छन् । कोही लेखन वा अरू पेसा व्यवसायमा लागेका हुन्छन् । म सुरुदेखि एकोहोरो भएर राजनीतिमा लागे । अरू केही काम जानेको छैन के गर्नु । जानेको र बुझेको यही राजनीति हो । युवा उमेरमा मन्त्री प्रधानमन्त्री भएँ । त्यति बेला अरू पनि केही सिक्नु पर्छ भन्ने लागेन । अरू काममा लाग्दा पनि लागिन । मेरो सीप क्षमता दक्षता जे छ, यही राजनीति हो । अरू केही जानेकै छैन जाने ठाउँ पनि रहेन ।
युवाहरूले त त्यसै बस्न हुँदैन, बुढेसकालमा त्यसै बस्दा झनै बुढेसकाल लागेको महसुस हुन्छ । सक्रिय हुनु पर्छ भनेर क्रियाशील भएको छु । यो उमेरमा पनि पार्टी एकता गरेर अध्यक्ष भएको छु । यो मेरो सोख हैन, परिस्थिति ल्याएको जिम्मेवारी हो । पार्टीमा आएको नयाँ शक्तिलाई पूरा गर्ने कोसिस गदै छु । यो मेरो रहरभन्दा पनि बाध्यता हो । राजनीतिमा सबै कुरा आफूले चाहेर हुँदैन अरूको मर्जिमा पनि चल्नु पर्ने हुन्छ । जनताप्रतिको उत्तरदायित्वले म सक्रियताको कोसिस गर्दै छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय