चलचित्र फ्रेण्डस निर्माण हुने

friendsकाठमाडौं : घटस्थापनाको अवसर पारेर फिल्म ‘फ्रेन्ड्स’ (साथी) निर्माणको घोषणा गरिएको छ । सह –निर्देशनमा सक्रिय सजन श्रेष्ठ ‘फ्रेन्ड्स’ मार्फत निर्देशक बन्दै छन् । उनले गोर्खा रक्षक, शासन, कसम र काठमाडौं गरी करिब एक दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका छन् ।
सत्य घटनामा आधारित ‘फ्रेन्ड्स’ चलचित्रमार्फत कलरिस्ट सुदीप श्रेष्ठ निर्माता बन्दै छन् । फिल्मका अर्का निर्माता विकास शर्मा हुन् । ढुवानी फिल्ममा ‘छलछल छल्कियो..’ बोलको आइटम गीतमा कम्मर मर्काएकी अर्चना देलाल ‘फ्रेन्ड्स’ मार्फत हिरोइन भएकी छिन् । फिल्ममा उनी मुख्य महिला पात्र हुन् । फिल्म ‘फ्रेन्ड्स’को शनिबार नयाँ बानेश्वर स्थित अल्फा विटा हाउसमा शुभमुहूर्त गरियो ।
निर्देशक सबिर श्रेष्ठको क्ल्याप र बद्री अधिकारीको एक्सनमा कलाकारहरू शोहित मानन्धर, रायन खड्का र कुमार वाग्लेले मुर्हूत सट दिए । निर्देशक आकाश अधिकारीले नरिवल फुटाए भने कलाकार संघका अध्यक्ष नवल खड्काले क्यामेराको स्वीच अन गरे । ‘फ्रेन्ड्स’ फिल्मका नव निर्देशक सजन श्रेष्ठले बद्री अधिकारी, आकाश अधिकारी र शविर श्रेष्ठलाई सम्मान गरेका थिए । तिनै जना निर्देशकले चलचित्र सफलताको शुभकामना दिएका थिए ।
दसैँपछाडि छायांकन प्रारम्भ हुने फिल्ममा आर्चना, शोहित, रायन र कुमारको साथमा रवि गिरी, रेश मरठ्ठा, एलिस राणालगायतको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेल र सिओडी ब्यान्डको संयुक्त संगीत छ । यसअघि राजेश हमाल र करिष्मा मानन्धरलाई लिएर साथी नामक फिल्म निर्माण भइसकेको छ । (सौस)

प्रतिक्रिया