उम्मेदवारी फिर्ता लिन ३३ दलको आग्रह

Mohan-Baidhyaकाठमाडौं, १९ असोज । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधान सभाको दोस्रो निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ ।
आफूहरुसंग भएका सहमितलाई चार दलका नेताहरुले हठात अस्वीकार गरी जबर्जस्त रुपमा प्रायोजित निर्वाचन थोपरेर द्वन्द्व निम्त्याउन खोजेको मोर्चाले आरोप लगाएको छ ।
३३ दलीय मोर्चाका तर्फबाट आज (शनिबार) विज्ञप्ति जारी गरेर नेकपा माओवादीका सचिव देव गुरुङले चुनावमा सहभागी नहुंन आग्रह गरेका हुन् ।
‘तपाईंले आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमति निर्माणको अभियानमा सहयोग पुर्‍याइदिन हुन ३३ दलीय मोर्चाको तर्फबाट हार्दिक आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वसहमतिको दस्तावेजको रुपमा रहेको अन्तरिम संविधान २०६३ लाई पनि चार राजनीतिक शक्तिको २५ बुंदे बाधा अड्काउ फुकाउले ध्वस्त बनाएको उनले बताए ।
‘व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको सम्पूर्ण अधिकार प्रधानन्यायाधीशमा केन्द्रित गरेर प्रधानन्यायाधीशलाई वस्तुत: संविधानभन्दा माथि राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाले निर्वाचनजस्तो नितान्त आन्तरिक मामिलामा राष्ट्रिय सुरक्षार्थ स्थापित नेपाली सेना दुरुप्रयोग गरिएको जनाएको छ । ‘निर्वाचनबाट विगतकालको द्वन्द्व व्यवस्थापन गरिनुपर्नेमा सेना परिचालनबाट द्वन्द्व निम्त्याउने र मुलुकलाई द्वन्द्वमा फसाएर मुलुकको राष्ट्रिय अस्मितालाई नै धरापमा पार्न खोजिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
बाह्य शक्तिकेन्द्रहरुको गुरुयोजनामा प्रायोजित निर्वाचनबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त गरी निरंकुशतन्त्र थोपर्न लागेको जनाएको मोर्चाले भनेको छ, ‘सिक्किमे काजी लेण्डुप दोर्जे जस्ता आफ्ना दलालहरुको कथित बहुमत बनाएर भारतद्वारा विगतकालदेखि प्रस्ताव गरिएका असमान सन्धि–सम्झौताहरुमा हस्ताक्षर गराउने, जलस्रोत लगायतका प्राकृतिक श्रोतसाधन हडप्ने, राष्ट्रिय अस्मितालाई समाप्त पार्न खोजिदैछ ।’

प्रतिक्रिया