व्यस्त निशा

nNsha-Adhikariनेपाली चलचित्रकी व्यस्त नायिका हुन्, निशा अधिकारी । पाँच वर्षअघि ‘मिसन पैसा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी निशाले यसबीचमा खाली हात बस्नुपरेको छैन । पाँच वर्षको छोटो चलचित्र यात्रामै उनी आफूलाई अब्बल नायिकाका रूपमा स्थापित गराउन सफल भएकी छिन् । उनले अहिलेसम्म दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । सिमोर सुनुवारकै चलचित्रबाट रजतपटमा भित्रिएकी निशा सिमोरकै अर्को चलचित्र फस्ट लभबाट चर्चामा आइन् । २०१० मा बनेको फस्टलभ फिल्ममा लिड एक्ट्रेस भएर काम गरेकी निशाको अभिनयले त्यतिबेला निकै चर्चा पाएको थियो । युवाहरूमाझ उनको अभिनयले राम्रै छाप छोडेको थियो । नरेन्द्र महर्जन र माधव वाग्ले निमिर्त उक्त फिल्म बक्स अफिसमा सुपरहिट बन्न पुग्यो ।

उनको अर्को चलचित्र नैना रेशम पनि सफल चलचित्र हो । उसो त उनले मायाज बार, अपवाद, सुनगाभा, धुवा यो नशाको, पल जस्ता फिल्म नेपाली रजतपटमा दिइन् तर यी कुनै पनि चलचित्रले लगानी सुरक्षित गर्न सकेनन् । एकाध चलचित्रबाहेक सफल चलचित्र दिन नसके पनि उनको माग भने कमी भएको छैन । मेरो भ्यालेन्टाइन, भीमदत्त र मिसन पैसा रिलोडेड निशाका प्रदर्शनको तयारीमा रहेका चलचित्र हुन् ।
उसो त निशा चलचित्रमा अभिनयपछि मात्र चर्चामा आएकी होइनन् । चलचित्रमा अभिनय गर्नुअघि नै उनले दर्शकहरू माझ आफ्नो छाप छोड्न सफल भएकी थिइन् । दर्जनौँ म्युजिक भिडियोमा उनले अभिनय गर्दै आएकी थिइन् । यस्तै, टेलिफिल्म, आर जे र भी जे को रूपमा समेत उनी व्यस्त थिइन् । चचिर्त टेलि शृंखला ‘घरेबेटी बा’बाट निशाले निकै चर्चा बटुलेकी थिइन् । निकै नै लोकप्रिय टेली शृंखला घरबेटी मा उनको अभिनय उत्कृष्ट थियो । सन् २००५ मा जापानमा भएको मिस इन्टरनेसनलमा ताज पहिरिएकी निशाको करियरमा यो पनि महत्त्वपूर्ण बन्न पुग्यो । सफल बन्न जति सजिलो हुन्छ, त्यो सफलतालाई टिकाई राख्न उत्तिकै चुनौतीपूर्ण हुन्छ भन्ने भनाइ निशामा पनि लागू भएको देखिन्छ ।
चलचित्रमा व्यस्त र सफल नायिका रूपमा चिनिन थालेकी निशा केही समय भने निकै आलोचितसमेत बनिन् । फिल्मी करियरमा उनको बढ्दो हाइटलाई निशाले घमण्डका रूपमा लिएको देखिन्थ्यो । सुरुमा सफल चलचित्र दिएकी निशाले पछि त्यसलाई निरन्तरता दिन नसकेपछि उनले मिडियाको आलोचनामा उत्रिन् । यस्तै, निर्माता निर्देशकसँग पनि उनको रवाफी व्यवहारका कारण पनि उनले एकातर्फ निकै चलचित्र गुमाइन् भने सँगसँगै बढ्दो उचाइमा पनि आफैँ अवरोध बनिन् । तर, पछिल्लो समय भने उनले आफ्नो व्यवहारमा सुधार ल्याएको चलचित्र क्षेत्रका व्यक्तिहरू नै बताउँछन् ।
यसैबीच, निशाले शुक्रबार आफ्नो २७औँ जन्मदिन मनाएकी छिन् । उनको जन्म १९८६ अक्टोबर ४ मा भएको हो । उनले वर्सेनि यही दिनलाई आफ्नो जन्मदिन मनाउँदै आएकी छिन् । निशालाई जन्मदिनको हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया