माथिको आदेश भन्दै सौर्यमा प्रहरीद्वारा धरपकड

Orderयसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ को हकमा पुनरावेदन सरकारी वकिल कार्यालय पाटनमार्फत र बाँकी विपक्षीहरुको हकमा आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु होला भनी आदेश र निवेदनको प्रतिलिपीसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई नियमानुसार गरी पेस गर्नु होला ।
यसमा निवेदकले अन्तरिम आदेशको समेत माग गर्नु भएकोले दुवै पक्षलाई छलफल गराई निर्णयमा पुग्नु उपयुक्त हुने हुँदा सो सम्बन्धमा छलफलका लागि मिति २०७०।७।५ गतेको पेशी तोकी उक्त दिन उपस्थित हुनका लागि विपक्षीहरूलाई समेत सूचना दिनु । सो अवधिसम्मका लागि निवेदकलाई पक्राउ गर्ने, बासस्थानमा अनधिकृत प्रवेश गर्ने, कागज गराउने जस्ता कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ३३ क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । यो आदेशको जानकारी अविलम्ब विपक्षीहरूलाई दिई कानुन बमोजिम गर्नु होला ।
माथिको आदेश भन्दै सौर्यमा प्रहरीद्वारा धरपकड 

काठमाडौं, १९ असोज । नेपाल प्रहरीले शुक्रबार बागबजारस्थित सौर्य दैनिकको कार्यालयमा छापा मारी धरपकड मच्चाएको छ । सुरक्षा दिनुपर्ने निकाय प्रहरीको टोलीले हतियार र बर्दिसहित पत्रिकाको कार्यालय प्रवेश गरी गैरकानुनी रूपमा दुई सञ्चालकलाई पक्राउ गरेको हो ।
बर्दीमै आई पत्रिकाको कार्यालयमा छापा मारी सञ्चालकलाई पक्राउ गर्ने प्रहरीको रबैयाको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघ, राजनीतिक दल, कानुन व्यवसायीलगायत विभिन्न संघसंस्थाले प्रहरी ज्यातीको भत्र्सना गरेका छन् ।
सृजना इन्टरनेसनल मिडियाद्वारा प्रकाशित सौर्य दैनिकको कार्यालयमा सिंहदरवार प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले ‘माथीको आदेश’ भन्दै धरपकड मच्चाएको थियो । प्रहरीले छापा मार्नुअघि नै कार्यालयमा रहेका दुई सञ्चालक शिव ढकाल र रमेश न्यौपानेलाई नियन्त्रणमा लिइसकेको थियो । ढकाल र न्यौपानेलाई प्रहरीले ‘माथीको आदेश’ भन्दै पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेको पाँच घन्टापछि प्रहरीले छाडेको छ ।
पत्रिकाका पत्रकार तथा कर्मचारी दैनिक कार्यसम्पादनमा व्यस्त रहेको बेला प्रहरी टोली हतियारसहित कार्यालयमा प्रवेश गरेको थियो । प्रहरीको धरपकडले पत्रिकाको दैनिक कार्यसम्पादनमा असर पुगेको छ भने पत्रकार तथा कर्मचारी त्रसित बनेका छन् ।
पत्रिकाको कार्यालयमा हतियारसहित प्रवेश गरी गैरकानुनी रूपमा धरपकड गर्ने कार्यप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष शिव गाउलेले सञ्चारगृहमा छापा मार्ने प्रहरीको कार्य खेदजनक भएको बताएका छन् । ‘सञ्चारगृहमा कुनै पनि बहानामा छापा मार्नु खेदजनक कार्य हो,’ अध्यक्ष गाउँलेले भने ।
चार महिनाअघि सौर्य दैनिकबाट राजीनामा दिएका केही कामदारको उजुरीका आधारमा ढकाल र न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, सौर्य प्रशासनले भने प्रहरीले अदालतको आदेशविपरीत धरपकड गरेको जनाएको छ । कामदारले प्रहरीमा उजुरी गरेलगतै सौर्य प्रशासन अदालत पुगेको थियो । अदालतले आगामी ५ कात्तिकसम्म कुनै प्रकारको पक्राउ गर्ने, जबरजस्ती कागज गर्ने तथा गराउने कार्य नगर्न प्रहरीलाई आदेश दिएको थियो । प्रहरीले नै अदालतको उक्त आदेशविपरीत धरपकड मच्चाएको सौर्य प्रशासनले जनाएको छ ।
बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले अदालतको आदेशविपरीत पत्रिकाको कार्यालयमा धरपकड मच्चाउनु प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी कदमको संज्ञा दिएका छन् । ‘प्रहरीको यो कार्यले आगामी दिनमा नेपाली प्रेसहरू स्वतन्त्र छैनन् भन्ने संकेत गर्दछ,’ बार उपाध्यक्ष भट्टराईले भने, ‘त्यसमा हामी खेद प्रकट गर्दछाँै ।’
त्यसैगरी, पत्रिका सञ्चालकलाई पक्राउ गर्ने प्रहरीको रवैयाप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि आपत्ति जनाएका छन् । एमाओवादी नेता तथा पूर्वगृहमन्त्री कृष्णबहादुर महराले सञ्चारगृहमा प्रहरी प्रवेश गरी छापा मार्नु गैरकानुनी कार्य भएको बताए । ‘आन्तरिक समस्या भए आन्तरिक रूपमा सुल्झाउन सकिन्छ । तर, सञ्चारगृहमा प्रवेश गर्नु नितान्त गैरकानुनी कार्य हो,’ नेता महराले भने । त्यस्तै, नेकपा–माओवादी प्रवक्ता पम्फा भुसालले पनि सञ्चारगृहमा छापा मार्ने प्रहरीको कार्यलाई बन्दुके शैलीको दमनको संज्ञा दिएकी छन् । ‘सञ्चारगृहमा छापा मार्नु दमन र निरंकुशता लाद्ने संकेत हो,’ प्रवक्ता भुसालले भनिन्, ‘हामी पूर्ण रूपमा यस्तो कार्यको विरोध गर्दछौँ ।’ एमाले नेता तथा पूर्वगृहमन्त्री भीम रावलले प्रहरी टोली हतियारसहित सञ्चारगंहमा प्रवेश गर्नु गैरकानुनी भएको बताए । नेता रावलले भने ‘प्रहरीको गैरकानुनी कार्य खेदजनक छ, यसको हामी भत्र्सना गर्दछौँ ।’
प्रहरीले भने सामान्य छलफलका लागि सौर्यका दुई सञ्चालकलाई पक्राउ गरेको प्रतिक्रिया दिएको छ । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले गलत उद्देश्य नराखी सामान्य छलफलका लागि दुई सञ्चालकलाई पक्राउ गरेको बताए ।

प्रतिक्रिया