सेफ ल्यान्डिङको पुन: सम्पादन मुम्बईमा

safe_landingकाठमाडौं : नेपालमा सम्पादन गरेको चित्त नबुझेपछि भारतीय मूलका मलेसियन नागरिक निर्देशक सन्दीप जोसेपले चलचित्र ‘सेफ ल्यान्डिङ’को पुन: सम्पादन गर्न अन्तत: बलिउड चलचित्र सम्पादक मेघना अश्चित श्रीवास्तवलाई गुहारेका छन् ।
चलचित्र बनाउँदा निर्माण पक्षका तर्फबाट कुनै किसिमको कम्प्रोमाइज नभएको भन्दै निर्देशक जोसेपले नेपालको सम्पादन चित्त नबुझेपछि बलिउड सम्पादकलाई सेफ ल्यान्डिङको काँटछाँटको जिम्मा लगाएका हुन् । फन्ना, क्रिस, रंग दे वसन्ती, नजर, देल्ही ६ जस्ता चलचित्रको सह–सम्पादन र एक बुरा आदमी, क्रेजी ४, कुछ लभ जैसा जस्ता चलचित्रको सम्पादन गरेकी मेघनालाई पुन: सम्पादन गर्न दिनुको कारणबारे निर्माता वसन्त भण्डारी भन्छन्, ‘हामी फिल्मलाई गुणस्तरीय बनाउने पक्षमा छौँ । आशा छ, मेघनाले चलचित्रलाई स्तरीय ढंगले सम्पादन गर्नेछिन् ।’
खर्चसँग नडराएका सेफ ल्यान्डिङ टिम बलिउड सम्पादकसँगको एग्रिमेन्टका बारेमा बोल्दै निर्माता भण्डारीले थपे, ‘हामीले बलिउड सम्पादकलाई कति पैसा दियौँ भन्दा पनि कस्तो प्रोडक्ट चाहन्छौँ भन्ने हो । उहाँको डिमान्डलाई हामीले पूरा गरेका छौँ । उहाँले हाम्रो लागि पनि राम्रो काम गरिदिनुहुन्छ भन्ने आश छ ।’ पोस्टप्रोडक्सन पनि चलचित्र बनाउँदाको महत्त्वपूर्ण स्थान रहेकाले हरेक प्राविधिक कामलाई गुणस्तरीय बनाउँदै लगेकाले रिलिज हुन ढिलाइ भएको निर्माता भण्डारीको भनाइ छ ।
‘सेफ ल्यान्डिङ’मा नीरज बराल, झरना वज्राचार्य, सुशीलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरीलगायतको अभिनय रहेको छ । अस्ट्रेलियन एनआरएन वसन्त भण्डारीको साथमा मलेसियन नागरिक राहुल अग्रवालको लगानी रहेको ड्रग्स माफियाको कथामा आधारित यो ग्याङस्टार चलचित्रमा नीरजलाई नेगेटिभ भूमिकामा देख्न सकिन्छ ।
नो वरिज फिल्म्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा राजन इशानको संगीत, जोन ज्याकोभको छायांकन तथा हिमाल केसीको द्वन्द्वनिर्देशन रहेको छ भने यो चलचित्रको कथा निर्देशक जोसेप र शान बस्न्यातले लेखेका हुन् । चलचित्रलाई काठमाडौंमा दीर्घ खड्काले सम्पादन गरेका थिए । (सौस)

प्रतिक्रिया