जहाज दुर्घटनामा दुईको मृत्यु

Putali Jahajपोखरा, १८ असोज । एभिया क्लबद्वारा पोखरामा सञ्चालित अल्ट्रालाइट (पुतली जहाज) फेवाताल पारिको रानी वनमा बिहीबार बिहान दुर्घटना हुँदा त्यसका चालकसहित दुई जनाको ज्यान गएको छ ।

नाइन एम ए जेड वाईको सो अल्ट्रालाइट कास्कीको पुम्दिभुम्दि –१ स्थित शान्ति स्तुपानजिकै बिहान ९:३० बजे दुर्घटना हुँदा अल्ट्रालाइटका सञ्चालकसमेत रहेका पाइलट स्टेफन श्रेष्ठसहित अर्का एक जना चिनियाँ पर्यटक जुन लिउको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काका अनुसार अल्ट्रालाइट दुर्घटना भएको खबर पाउना साथ उद्धारका लागि खटिएको प्रहरी टोली दुर्घटनास्थल पुग्दा दुवैको ज्यान गइसकेको थियो ।
प्रत्यक्षदर्शी स्थानीय बासिन्दा सूर्यबहादुर विकका अनुसार माथि आकाशमा उडिरहेको उक्त जहाज माथिबाट एक्कासि सिधै तल बिजुलीको तारमा ठोकिँदै खेतमा बजारिएको थियो । दुर्घटनाको कारण पत्ता नलागेको भए पनि एक्कासि जहाजको इन्जिन बन्द भएको हुन सक्ने अनुमान गरिएको छ । मौसम प्रतिकूल रहेको भए पनि मौसमकै कारणले दुर्घटना नभएको अवस्थामा के कारणले दुर्घटना भयो भन्ने कुरा अनुसन्धान पछि मात्र थाहा हुने जनाइएको छ । जहाजमा कुनै खराबी आएमा आपत्कालीन अवस्थामा खोल्ने ग्लाइडरसमेत नखुलेको भेटिएको छ ।
पछिल्ला दिनमा पोखरामा दृश्य अवलोकनका लागि मौसम प्रतिकूल भएको अवस्थामा समेत उडान गरिने गरेको छ । पोखरामा एभिया क्लबद्वारा पाँच र पोखरा अल्ट्रालाइटका दुई गरी सातवटा अल्ट्रलाइट सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया