उम्मेदवारी छनोटप्रति असंतुष्टि जनाउँदै क्षेत्रीय सभापतिद्वारा पार्टी परित्याग

भैरहवा, १७ असोज । उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मातृका यादवले पार्टीको साधरण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेका छन् ।

यादवले नेपाली कांग्रेसको कुनै पनि समितिमा नरहने तथा पार्टीको साधरण सदस्यसमेत नरहने र पार्टीको क्षेत्रीय सभापतिबाट समेत राजीनामा दिएका हुन् । कांग्रेसले रूपन्देही क्षेत्र नम्बर २ मा पार्टीका केन्द्रीय नेता रामकृष्ण ताम्रकारलाई आगमी संविधानसभाको निर्वाचनका लागि उम्मेदावर छनोट गरेकोप्रति असन्तुष्टि जनाउँदै यादवले पदबाट राजीनामा मात्रै नभएर पार्टी नै परित्याग गरेका हुन् ।
यादवले बुधबार कांग्रेस पार्टी कार्यलय भैरहवामा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको नेपाली कांग्रेस क्षेत्रीय सदस्य सतिष चौधरीले बताए । यादवले आफ्नो राजीनामा पत्रमा आफूले ०४८ सालदेखि कांग्रेसको विभिन्न समितिमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरेको तर पार्टीले कहिल्यै मूल्यांकन नगरेको भन्दै राजीनामा दिएको बुझिएको छ ।
यता पार्टीको साधरण सदस्यबाट समेत राजीनामा दिएका भनिएका यादवलाई सम्पर्क गर्दा उनले त्यो पार्टीभन्दा बाहिर नलाने कुरा भएकोले आफू यस सम्बन्धमा बोल्न नचाहेको बताए ।
रूपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसको अधिकांश बुथ समितिले दीपक क्षेत्रीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै पार्टीलाई चर्को दबाब दिएको थियो । तर, पार्टी केन्द्रीय शक्तिको प्रयोग गर्दै ताम्रकार मंगलबार टिकट लिएर भैरहवा आएका छन् । ताम्रकार पूर्वमन्त्री पनि हुन् । पछिल्लो समय उनी नेपाली कांग्रेसबीचमै अलोकप्रिय र आलोचित हुँदै आएका छन् । यादवको राजीनामाले आगमी निर्वाचनमा ताम्रकारलाई ठूलो धक्का लाग्ने बुझिएको छ । यादव नेपाली कांग्रेसका यस क्षेत्रका पुराना नेता हुन् ।

प्रतिक्रिया