निर्माणाधीन सडकको निरीक्षण

काठमाडौं, १६ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं काठमाडौं विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाको नेतृत्वमा विस्तारित सडकको निर्माण कार्यको स्थलगत निरीक्षण भएको छ ।

सचिव बास्कोटाले माईतीघर मण्डेलादेखि तीन कुनेसम्मको २६ सय मीटर लामो सडक निर्माणको गति सुस्त भएकोमा असन्तोष व्यक्त गर्दै सिघ्र निर्माणको काम गर्न निर्देश दिएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्याल खरेलले दशैं र तिहारको बीचमा मण्डेलादेखि धोवीखोलासम्म कालोपत्रे गर्ने काम सम्पन्न गर्ने र अन्य कामलाई पनि तिव्रता दिने आश्वासन दिएका छन् ।
त्यस्तै ज्ञानेश्वरदेखि रातो पुलसम्मको सडक खण्डमा पेटी वन्न बाँकी भएकोमा सचिव बास्कोटाले तुरुन्तै पेटी निर्माण गराउन वा ठेक्का तोड्न निर्देश गरे । निर्माण व्यवसायीलाई निर्माणका लागि आग्रह गर्ने र अटेर गरे कारवाही गर्ने खरेलले बताए । लैनचौरदेखि पानीपोखरी–महाराजगन्ज र गोल्फुटार हुँदै बूढानीलकण्ठ खण्डको निरीक्षणका क्रममा सचिव बास्कोटाले लाजिम्पाटवासीले जुलुस निकालेको चर्चा गर्दा काममा ढिलाइ भएकोमा आपत्ति जनाए । सो सडकमा एक महिना भित्र अण्डर ग्राउण्ड केवलिङ गर्ने गरी समय माग भएकाले निर्माणमा ढिलाइ भएको जानकारी गराईको थियो । बास्कोटाले कुनै पनि वाहानामा तोकिएको मितिभन्दा वढी समय लाग्ने गरी निर्माणको काम हुन नहुने कुरा बताए । निर्माणको गुणस्तरका विषयमा कुरा उठी रहेको, ठाँउ ठाँउमा पिच उप्केको, ठाँउ ठाँउमा पेटी भत्किएको र बाटोमै अलकत्रा पकाएको विषयमा सचिव बास्कोटाले जिम्मेवार पदाधिकारीलाई स्पष्ट गर्न आग्रह गरे ।
टोलीले नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर खण्डको पनि स्थलगत अनुगमन गरेको थियो । यो खण्डमा दसैँ पूर्व कालोपत्रे गरेको हुनुपर्ने निर्देशन सचिव बास्कोटाले दिए । बास्कोटाका अनुसार यस अवधिमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पनि तोकिएअनुसार काम गरेका छन् । स्थलगत निरीक्षण टोलीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले सबै खण्डमा कामले तिव्रता लिएको बताए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुखले यसवीचमा काठमाडौं जिल्लामा ४ किमि र ललितपुरमा ९ सय मिटर नयाँ सडक खोलिएको जानकारी गराईयो । साथै, काठमाडौं नगरपालिकावाट २ किमि सडक कालोपत्रे भैसकेको र असोज २० भित्र थप करिब ४ किमि कालोपत्रे गरिने जानकारी गराईयो ।
सचिव बास्कोटाले काममा तिव्रता दिन, गुणस्तरमा कुनै सम्झौता नगर्न, काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न, हेलचक्याई गर्ने राष्ट्रसेवक कर्मचारीलाई विभागीय कारवाही गर्न, २ मिटर कायम हुने गरी पेटी निर्माण गर्न, दशैं पूर्व सम्भव भएसम्म ग्राभेल गर्न र सबै खाल्टा–खुल्टी पुर्न, लत्रिएका तारको व्यवस्थान गर्न र भत्केर निस्केका फोहोर तुरुन्तै हटाउन निर्देश दिए ।

प्रतिक्रिया