प्रहरीको ज्यादतीविरुद्ध धर्ना

धरान : एमाले निकट युवा संघ नेपालमा आवद्ध धरानका युवाहरूले मंगलबार दिउँसो धरानमा प्रहरीको ज्यादती बढेको भन्दै इलाका प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले धरान नगरका उपाध्यक्ष कर्ण लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै युवा संघ सम्बद्ध युवाहरूले इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । बिहान धरान–१५ स्थित सदनरोडबाट डाइस खेलाई रहेका दुई युवालाई प्रहरीले पक्राउ गरेपछि बुझ्न आएका लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुई डाइस खेलाउने युवालाई छुटाउन भनि इलाका प्रहरी कार्यालय धरानमा आइपुगेका कर्ण लिम्बुले प्रहरी कार्यालयमै प्रहरीलाई गालीगलौज गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी टेकबहादुर तामाङले बताए । प्रहरीलाई हातपात गर्न खोजेको र अपशब्द बोल्दै आक्रमक बनेपछि लिम्बुलाई नियन्त्रणमा लिइएको उनले जानकारी गराए ।

युवा संघ नेपाल धरान नगरका उपाध्यक्ष कर्ण लिम्बुलाई प्रहरीले हात खुट्टामा बाँधेर राखेको भन्दै विरोध स्वरूप युवा संघले इलाका प्रहरी कार्यालयको गेटमा धर्ना दिएका थिए । लिम्बुलाई कुनै किसिमले प्रहरी ज्यादती नगरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । संघले भने धरानमा प्रहरीको ज्यादती बढ्दै गएका आरोप लगाएको छ । यसैबीच, घटनाका विषयमा जानकार दिन गएका पत्रकारलाई समेत इलाका प्रहरी कार्यालयको गेटबाट प्रवेश गर्न प्रहरीले दिएन । कार्यालय प्रवेश गेट नै बन्द गरिदिएपछि सेवाग्राहीलाई समेत मंगलबार प्रवेशमा रोक लगाइएको थियो । एमालेका नेताहरूसँगको वार्तापछि कर्ण लिम्बु छुटेका छन् ।

प्रतिक्रिया