सर्ट फिल्म फेस्टिभल सकियो

short-film-ekadeshmaतीन दिनदेखि राजधानीमा जारी एकादेश सर्ट फिल्म फेस्टिभल आइतबार सकिएको छ । छोटा चलचित्रहरूको प्रदर्शन, विश्लेषण, अन्तरक्रिया र बजारीकरण गर्ने उद्देश्यले शुक्रबारबाट सुरु अन्तर्राष्ट्रियस्तरको लघु चलचित्र मेला आयोजना गरिएको हो । आयोजना अवधिभर विभिन्न देशका ३० वटा छोटा चलचित्र प्रदर्शन गरिएको थियो ।
अन्डरग्राउन्ड टाकिजले आयोजना गरेको मेलामा नेपालसहित अमेरिका, बेल्जियम, फ्रान्स, स्पेन, बेलायत, आयरल्यान्ड, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रेलियालगायतका मुलुकमा सर्ट फिल्महरू देखाइएको थियो ।
फेस्टिभलको पहिलो दिन शुक्रबार क्युएफएक्स कुमारी हलमा नेपाली लघु चलचित्र ‘द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट’को प्रदर्शनी गरिएको थियो । यस्तै, सोही दिन कुमारी हलमा ‘फूलको माला’ खण्डअन्तर्गत १२ सर्ट फिल्म प्रदर्शन गरिएका थिए ।
शनिबार कुमारी हलमै ‘हिराको माला’ सेक्सनका फिल्महरू प्रदर्शन गरिए । यो सेक्सनमा म्यानहटन लघु चलचित्र महोत्सवअन्तर्गत विश्वका दुई सय ५० भन्दा बढि सहरहरूमा एकै सातामा प्रदर्शन हुने विभिन्न देशका उत्कृष्ट १० लघुचलचित्र देखाइएको आयोजकले जनाएको छ ।
अन्तिम दिन आइतबार सर्वनाम थिएटरमा आठवटा चलचित्रको प्रदर्शनी गरियो । विद्यार्थीद्वारा निर्माण गरिएका चलचित्रहरूलाई प्राथमिकता दिइएको थियो । नेपालमा लघु चलचित्रको विकास गर्न वर्षेनी एकादेशमा आयोजना हुँदै आएको छ । पछिल्लो समय एकाध नेपाली चलचित्र बाहेक अधिकांश चलचित्रहरू व्यावसायिक रूपमा कमजोर देखिन्छन् । एकसाता पनि हलमा टिक्न नपाउँदै बाहिरिएका धेरै चलचित्रहरू छन् । नेपाली चलचित्रको बजार निराशाजनक भए पनि थियटर र सर्ट फिल्मप्रति दर्शकहरू आकर्षित देखिन्छन् । तीनदिन चलेको मेलामा दर्शकको आकर्षण गत वर्षभन्दा बढी रहेको थियो । अन्तर्राष्ट्रियस्तरको मेलाबाट नेपाली छोटा चलचित्र निर्माताहरूले धेरै सिक्ने मौका पाउने आयोजकको विश्वास छ ।(सौस)

प्रतिक्रिया