सुरु भयो सर्ट फिल्म फेस्टिभल

short-film-ekadeshmaशुक्रबारबाट राजधानीमा ‘एकादेश सर्ट फिल्म फेस्टिवल’मा सुरु भएको छ । कथाहरूको प्रदर्शन, विश्लेषण, अन्तक्र्रिया र बजारीकण गर्ने उद्देश्यले शुक्रबारबाट सुरु भएको फिल्म फेस्टिभलमा ३० वटा छोटा चलचित्र प्रदर्शन गरिनेछ । अन्डरग्राउन्ड टाकिजले आयोजना गरेको यो मेला १३ गतेसम्म चल्ने छ । नेपालसहित अमेरिका, बेल्जियम, फ्रान्स, स्पेन, बेलायत, आयरल्यान्ड, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रेलियालगायतका मुलुकमा सर्ट फिल्महरू देखाइने आयोजकले जनाएको छ ।
फेस्टिभलको पहिलो दिन शुक्रबार क्युएफएक्स कुमारी हलमा नेपाली लघु चलचित्र ‘द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट’ को प्रदर्शनी गरिएको थियो । कुमारी हलबाट सुरु चलचित्र मेलामा ‘फूलको माला’ खण्डअन्तर्गत १२ सर्ट फिल्म देखाइने छ । शनिबार कुमारी हलमै ‘हीराको माला’ सेक्सनका फिल्म प्रदर्शन हुनेछन् । यो सेक्सनमा म्यानहटन लघु चलचित्र महोत्सव अन्तर्गत विश्वका २५० भन्दा बढी सहरमा एकै सातामा प्रदर्शन हुने विभिन्न देशका उत्कृष्ट १० लघुचलचित्र देखाइने आयोजकले जनाएको छ ।
अन्तिम दिन १३ गते सर्वनाम थिएटरमा ८ वटा चलचित्र देखाइने छ । उक्त दिन विद्यार्थीद्वारा निर्माण गरिएका चलचित्रको प्रदर्शनी हुनेछ ।
यस्तै लघु चलचित्र मेला अवधिभर चलचित्रका बारेमा अन्तक्र्रिया गरिने आयोजकले जनाएको छ । नेपालमा लघु चलचित्रको विकास गर्न बर्षेनि ‘एकादेशमा’ आयोजना हुँदै आएको छ । (सौस)

प्रतिक्रिया