निगमको थप कर्मचारी अख्तियारको थुनामा

काठमाडौं, १२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रियामा बाधा पुर्‍याएको भन्दै नेपाल आयल निगमका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई शुक्रबार पक्राउ गरेको छ । अख्तियारको निर्देशन तथा निगम सञ्चालक समितिको निर्णयविरुद्ध बोनस बाँड्ने उच्च कर्मचारीको अनुसन्धान प्रक्रियामा न्यौपानेले बाधा पुर्‍याएको जिकिर गर्दै पक्राउ गरिएको प्रवक्ता श्रीधर सापकोटाले बताए ।

आयोगले घाटामा रहेको संस्थाबाट कर्मचारीलाई बोनस रकम बाँडेको अभियोगमा निगमका कार्यकारी निर्देशकसहित चार उच्च कर्मचारीलाई नियन्त्रणमा ८ असोजमा पक्राउ गरेको थियो । पक्राउ परेका चार उच्च कर्मचारीको अनुसन्धानमा न्यौपानेले बाधा पुर्‍याएको अख्तियारले दाबी गरेको छ । प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यौपानेले आयोगको अनुसन्धान प्रक्रियामा बाधा, विरोध गर्ने अभिप्रायले वक्तव्यबाजी तथा टेलिभिजनमा अन्तर्वाता प्रसारण गरेको हुँदा उनलाई हिरासतमा लिइएको छ ।’ अख्तियारले पक्राउ परेका अन्य कर्मचारीलाई बचाउ गर्ने उद्देश्यसहितको सार्वजनिक वक्तव्य दिँदै आएका थिए । उनकै निर्देशनमा पूर्वाञ्चलका डिपो एक दिन बन्द गरिएको आरोप अख्तियारले लगाएको छ ।
वर्षाैंदेखि घाटामा गइरहेको निगमलाई थप आर्थिक क्षति पुर्‍याउनेगरी बोनस रकम बाँडेको अभियोगमा अख्तियारले कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र शाह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएको थियो । आयोगले आफ्नो निर्देशनविपरीत कर्मचारीलाई बोनस रकम बाँडेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
निगमले केही दिनअघि २०६५ सालमा भएको नाफाबापतको बोनस रकम कर्मचारीलाई वितरण गरेको थियो । तर, अख्तियारले निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म कुनै प्रकारको बोनस रकम कर्मचारीलाई वितरण नगर्न निर्देशन दिएको थियो ।
अख्तियारको निर्देशनपछि नेपाल आयल निगमको सञ्चालक समितिले कुल सञ्चित नोक्सानी पूर्ति भई नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण कार्य रोक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया