सकिँदै मनसुन, सुरु हुँदै जाडो

काठमाडौं, १२ असोज । निकै सक्रिय रहेको र पर्याप्त वर्षा भएको यस वर्षको मनसुन डेढ साता पछि सरेर अब एक सातामा सकिँदै छ । सँगसँगै काठमाडौं उपत्यकामा बिहान–बेलुका जाडो महसुस हुन थालिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सकिने साविक मितिभन्दा पर सरेको यस वर्षको मनसुन कमजोर भइसकेको छ । त्यससँगै बिहान–बेलुका जाडो सक्रिय हुँदै छ । ‘कमजोर अवस्थामा रहेको मनसुन नेपालबाट बाहिरिने क्रममा छ, अबको एक सातामा बाहिरिसक्छ,’ महाशाखाका मौसमविद् राजुधर प्रधानांगले शुक्रबार सौर्यसँग भने, ‘बिहान–बेलुकाको तापक्रम घट्दै गैरहेकाले जाडो बढ्ने क्रममा छ ।’
सामान्यत: बंगालको खाडीको मनसुनी वायु भारत हुँदै पूर्वबाट १० जुनमा नेपाल भित्रिएर २३ सेप्टेम्बरमा आएकै बाटो फर्कन्छ । तर यसपालिको मनसुन चार दिन ढिलो सुरु भयो भने अझै सकिएको छैन । काठमाडौंमा मनसुन अवधिभर सामान्यत: ११२५.६ मिलिमिटर वर्षा हुन्छ । तर यो वर्ष मनसुन अवधि नसकिँदै त्योभन्दा २००.८ मिलिमिटर बढी १३२६.४ मिलिमिटर वर्षा भइसकेको छ ।
महिनाअनुसारको आँकडाअनुसार यो वर्ष जुन महिनामा २३६.३ मिलिमिटर वर्षा हुनुपर्नेमा ३२.७ मिलिमिटर बढी २९५.३, जुलाईमा ३६३.४ मिलिमिटर हुनुपर्नेमा ८३.८ मिलिमिटर बढी ४४०.३, अगस्टमा ३३०.८ मिलिमिटर पर्नुपर्नेमा १३२.६ मिलिमिटर बढी ४५२.२ र सेप्टेम्बरमा १८६.९ मिलिमिटर वर्षा हुनुपर्नेमा अहिले सम्म १३८.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
गत वर्ष ६ दिन ढिलो सुरु भएको र सकिने समयभन्दा चार दिनपछि सकिएको मनसुन औसत वर्षा नभएरै सकिएको थियो । अघिल्लो वर्षको मनसुनका सुरुका तीन महिना जुन, जुलाई र अगस्टमा देशभर क्रमश: ४०, १७ र १० प्रतिशत कम वर्षा भएको थियो भने सेप्टेम्बरमा औसत वर्षा भएको थियो । पूरै मनसुन अवधिभर ८३.२५ प्रतिशत मात्रै वर्षा भएको रेकर्ड छ । यता बिहान र बेलुकाको तापक्रम भने ३ देखि ४ डिग्री सेल्सियस घटिसकेकाले बिस्तारै चिसो बढ्दै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया