वनमै डेरा गरी काठ तस्करी गर्ने ११ पक्राउ

कैलाली, ११ असोज । कैलालीको चुरे क्षेत्रमा वनमै डेरा गरी काठ तस्करी गर्दै आएका ११ जनालाई जिल्ला वन कार्यालय कैलालीको गस्ती टोलीले पक्राउ गरेको छ भने १० जना फरार भएका छन् ।

सुगरखाल गाविस–७ मा पर्ने आमगैरा जंगलमा डेरा गरी काठ तस्करी गर्ने ११ जनालाई बुधबार पक्राउ गरिएको जिल्ला वन कार्यालय कैलालीका निमित्त वनअधिकृत रामकाजी श्रेष्ठले जानकारी दिए ।
विशेष सूचनाका आधारमा इलाका वन कार्यालय बल्चौरको गस्ती टोलीले उनीहरूको साथबाट चार थान हाते आरा, १५ वटा चिरान गरिएको काठ, एक बन्चरो, एक खुकुरी तथा अन्य बन्दो बस्तीका सामान बरामद गरिएको उनले बताए । तीन समूहमा चिरान गर्ने गरेकोमा दुई समूह फक्राउ परेको र डिकेन्द्र खड्काको नेतृत्वको १० जना भने फरार भएको गस्तीमा गएका सुगरखाल रेन्जपोस्टका रेन्जर भगलु मण्डलले बताए । मण्डलका अनुसार पक्राउ पर्नेमा बलिया–३ का प्रकाश धामी, अर्जुन बोगटी, पथरैया–३ अमौरीका नबिन चौधरी, सञ्चुराम चौधरी, खुशीराम चौधरी, रामजनम चौधरी, सुकैलाल चौधरी, ठगुराम चौधरी, तुलाराम चौधरी, दुतराम चौधरी र दुहरा चौधरी रहेका छन् ।
उनीहरूले सो क्षेत्रमा विगत केही समयदेखि काठ तस्करी गर्दै आएको रेन्जर मण्डलले जानकारी दिए । पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालय ल्याउने तयारी भइरहेको निमित्त जिल्ला वन अधिकृत श्रेष्ठले बताए । सो वनमा एक महिनाको अवधिमा करिब ३५ सालका रूख कटानी भइसकेको वनले जनाएको छ । पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ रहेको सो जंगल करिब ४/५ घन्टा पैदल दूरीमा रहेको छ ।

प्रतिक्रिया