६० प्रतिशत फर्निचर विदेशी

काठमाडौ, १० असोज । फर्निचरको सामानमा पनि विदेशीकै भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ । विद्युत् दक्ष जनशक्ति, कच्चा पदार्थ र मजदुर समस्याका कारण स्वदेशी उद्योगले उत्पादन गर्न नसक्दा विदेशीकै भरपर्नुपर्ने अवस्था देखिएको हो । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशबाट आयातीत फर्निचरले ६० प्रतिशत नेपाली बजार ओगट्नु दु:खद भएको बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो २०१३ को बुधबार उद्घाटन गर्दै मन्त्री कोइरालाले आन्तरिक उत्पादन र आयातको असन्तुलन कम गर्ने उपायको खोजीका लागि सहकार्य गर्न सरकार तयार रहेको बताए ।

परम्परागत सीप र कलामा आधारित उद्योगलाई प्रोत्साहित गर्न आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै मन्त्री कोइरालाले भने, ‘यस व्यवसायसँग जोडिएका नीतिगत, कानुनीदेखि भौतिक, प्राविधिक सहयोग गर्न सरकार तत्पर छ । सरकारले औद्योगिक नीति ल्याएर यसको आरम्भ गरिसकेको छ । जागरुक उद्यमीलाई सघाउन छुट्टै कोषको व्यवस्था गरिएको छ ।’
भन्सार दरमा छुट दिएर मात्र उद्योगको प्रवद्र्धन हुन्छ भन्ने सोचाइ नराख्न व्यवसायीहरूलाई सल्लाह दिँदै कोइरालाले भने, ‘यदि त्यसो हो भने मदिरा, सवारी, सुन आयातमा उच्च भन्सार दर हुँदाहुँदै पनि किन आयात प्रतिस्थापन हुन सकेन, यसतर्फ सबैले सोच्नुपर्छ । ’
मन्त्री कोइरालाले साºटा, डब्लुटिओजस्ता अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता सरकारको बटमलाइन भएको स्पष्ट गर्दै भ्याट र करबाट नतर्सन निजी क्षेत्रलाई आग्रह गरे । उनले निजी क्षेत्रको हितका लागि सरकार बाधक होइन साधक बन्नेमा पनि जोड दिए । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कृष्णलाल प्रधानले बिजुली, दक्ष जनशक्ति, कच्चा पदार्थ र मजदुर समस्याका कारण व्यवसाय चौपट भएको धारणा राखे ।
सो अवसरमा नेपाल– चीन चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले बजेट भाषणमा निजीक्षेत्रलाई दिएको प्रोत्साहन व्यवहारमा उतार्न आग्रह सरकारलाई आग्रह गरे । सो अवसरमा व्यवसायीले फर्निचर व्यवसायको विकास, विस्तार र संरक्षणमा अभिभावकीय भूमिका निर्वाह गरिदिन सरकारसँग माग गरे ।
नेपालमा उत्पादित सामग्रीले ४० प्रतिशत मात्र बजार हिस्सा रहेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष तथा नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष सुरेन्द्रकुमार शारदाले बताए । नेपाली फनिर्चर विदेशी फर्निचरभन्दा कम छैन भनेर जानकारी गराउने मेलाको मुख्य उद्देश्य रहेको छ । विदेशीभन्दा सस्ता, गुणस्तरीय र बलियो बनाउन नेपाली उत्पादन हुने भएकाले उपभोक्तालाई जानकारी गराउनु पनि मेलाको उद्देश्य रहेको उनले बताए । ‘उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ,’ अध्यक्ष शारदाले भने, ‘आगामी ५ वर्षमा नेपाली उत्पादन ९० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य छ ।’ फर्निचर तथा फर्निसिङ व्यवसायका समस्याको समाधान भयो भने यो लक्ष्य सहज रूपमा पूरा हुने उनले बताए ।
पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशमा बनेका फर्निचरका अत्याधुनिक सामग्री राखिएका छन् । संघले दिएको जानकारीअनुसार यस व्यवसायमा २० अर्बभन्दा बढीको लगानी छ । सबै व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाडांै उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाइरहेको संघले बतायो ।

प्रतिक्रिया