विशेष कार्यक्रमका साथ विश्व पर्यटन दिवस मनाइने

काठमाडौं : चौतीसौं विश्व पर्यटन दिवस विशेष महत्वका साथ देशभर पर्यटनको प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यक्रम गरी मनाइने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको विश्व पर्यटन सङ्गठन (डब्लुटिओ)ले सेप्टेम्बर २७ तारिखलाई पर्यटन दिवसको रुपमा मनाउन आह्वान गरेअनुरुप नेपालमा एक सातासम्म विविध कार्यक्रमका साथ पर्यटन दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस वर्षको पर्यटन दिवसको मूल नारा पर्यटन र पानी: हाम्रो साझा भविष्यको रक्षा रहेकाले पर्यटन र पानीबीचको अन्तरसम्बन्धलाई उजागर गरिने छ । सो अवसरमा पर्यटकलाई विशेष सम्मान र शुल्कमा छुट दिइने, जलयात्रा, पथप्रर्दशन, दृश्यावलोकनमा छुट दिने, पर्यटनको महत्वका बारेमा रेडियो, एफएमबाट संवाद कार्यक्रम, पर्यटकीय गन्तव्यस्थलका साथै बागमती नदी सरसफाइ, ऐतिहासिक ढुुङ्गेधाराको जीर्णोद्वार, सञ्चारकर्मीबीच बाल प्रतियोगिता गरिने पनि बताइएको छ ।
बोर्ड र पर्यटन व्यवसायीको सङ्गठनद्वारा संयुक्तरुपमा आयोजना गरिने सो कार्यक्रम कााकडभिट्टा, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, कञ्चनपुरमा समेत सडक महोत्सव, सांस्कृतिक कार्यक्रम र पर्यटनको महत्वका झल्काउने पोस्टर, ब्यानर र प्लेकार्डसहितको साइकल र्‍याली गरिने छ ।
कार्यक्रममा बोर्डका अध्यक्ष एवम् पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरेले पर्यटनप्रति जनतामा जागृत गराउने पर्वका रुपमा यस दिनलाई सबैको सहकार्यबाट मनाउनुपर्ने बताए । बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले पर्यटनको महत्व बढ्दै गएको अवस्थामा पर्यटन प्रवद्र्धनका लागि ऐक्यबद्धता देखाउन यस दिनमा सबै सरोकारवाला संस्थाको साझा कार्यक्रम राखिएको उल्लेख गरे । पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले पर्यटन दिवसमा पानीको सदुपयोगका लागि सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय गरी अघि बढ्नेमा जोड दिए ।

प्रतिक्रिया