३३ विद्यालयमा छात्रा शौचालय निर्माण गरिने

बाजुरा, ८ असोज । अछाम जिल्लाका विभिन्न क्षेत्रका ३३ विद्यालयमा छात्रा शौचालय निर्माण गरिने भएको छ ।

जिल्लाका अधिकांश विद्यालयमा शौचालय निर्माण भए पनि लैंगिकमैत्री नभएको गुनासो बढेपछि यसै आर्थिक वर्षभित्र जिल्लाका ३३ विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ । अछाममा सञ्चालित पाँच सय २७ सरकारी तथा ३३ निजी गरी जम्मा पाँच सय ६० विद्यालयमध्ये ४० वटा विद्यालयमा अझै शौचालय छैनन् । शौचालय निर्माण नभएका ४० विद्यालयमध्ये ३३ विद्यालयमा शौचालय बनाउने तयारी गरिएको छ । बाँकी भएका सात विद्यालयका लागि शौचालय निर्माणको पहल थाल्ने जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले जानकारी दिए । जिल्लाका अधिकांश विद्यालयहरूमा शौचालय भएर पनि त्यसको उचित प्रयोग नभएको गुनासो अभिभावकहरूले गर्ने गरेका छन् ।

प्रतिक्रिया