संरक्षणकर्मी पुरस्कृत हुने

काठमाडौं : अघिल्ला वर्षजस्तै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले यो वर्ष ६ जना संरक्षणकर्मीलाई पुरस्कृत गर्ने भएको छ । विभिन्न क्षेत्रबाट संरक्षणमा योगदान पुर्‍याए बापत उनीहरूलाई सोमबार (आज) राष्ट्रिय संरक्षण दिवसको अवसरमा पुरस्कृत गरिँदै छ ।
डब्लुडब्लुएफले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएअनुसार यसपालि अब्राहम कन्र्भेसन अवार्ड व्यक्तिगततर्फ समाजिक परिचालक प्रकाश विके र वन मन्त्रालयका योजना अधिकृत डा. इन्दिराप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ । विकेलाई वन्यजन्तुको चोरी शिकार नियन्त्रण गर्न उल्लेखनीय योगदान पुर्‍याएबापत र सापकोटालाई चरा, सरिसृपलगायतका ५० भन्दा बढी प्रजाति जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएबापत पुरस्कृत गर्न लागिएको हो ।
सोही पुरस्कार संस्थागततर्फ नवलपरासीको सुन्दरी सामुदायिक वनलाई र विशेष पुरस्कार तरंग–सिद्धचुली बफरजोन उपभोक्ता समुदायकी सचिव चन्द्रकला बुढालाई प्रदान गरिने भएको छ । त्यस्तै, डब्लुडब्लुएफ संरक्षणमा मिडिया पुरस्कार एक दशकदेखि पत्रकारिताका माध्यमबाट संरक्षणमा योगदान पुर्‍याएबापत अन्नपूर्ण पोस्टका पत्रकार पीताम्बर सिग्देललाई प्रदान गरिने भएको छ ।
त्यस्तै, म्याथ्यु प्रिस र येशी छोदेन लामा युथ कन्जर्भेसन अवार्ड समुदायमा आधारित चोरीशिकार नियन्त्रण इकाई केरुङ चितवनका संयोजक विकास पाठकलाई प्रदान गरिने भएको छ । डब्लुडब्लुएफले सन् २००७ देखि हरेक वर्ष संरक्षणकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया