प्रचण्डसँग रेखाको समोसा पार्टी

Rekha-Thapa-souryaनेकपा एकीकृत माओवादीले नायिका रेखा थापालाई पर्साको क्षेत्र नम्बर–१ बाट संविधानसभा उम्मेदवार बनाउने सुनिश्चित गरेको छ । प्रत्यक्षमा उम्मेदवारी सिफारिस भएको दोस्रो दिन रेखाको उम्मेदवारी सुनिश्चित भएको हो । शनिबार अध्यक्ष दाहाल, मधेस ब्युरो इन्चार्ज रामचन्द्र झा, भोजपुरा राज्य समितिका इन्चार्ज प्रभु साह र भोजपुराका संयोजक क्षेत्रबहादुर श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मासहितको बैठकले रेखालाई टिकट दिने निर्णय गरेको हो ।
‘समोसा खाँदै चुनावी रणनीति बनाउँदै,’ अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले शनिबार आफ्नो फेसबुकमा सेयर गरेको तस्बिरमा लेखेका छन्, ‘रेखा थापा पर्सा क्षेत्र नम्बर–१ बाट एनेकपा माओवादीको उम्मेदवार पक्का ।’
अध्यक्ष शर्माले सेयर गरेको उक्त तस्बिर शनिबार साँझसम्म पाँच सयभन्दा बढीले लाइक गरेका छन् । डेढ सयभन्दा बढीले टिप्पणी गरेका छन् भने ३५ जनाले सेयर गरेका छन् । उक्त तस्बिरमा केहिले नायिका रेखा थापालाई चलचित्रमा सफल भएजस्तै राजनीतिमा पनि सफल हुन शुभकामना दिएका छन् भने केहीले अवसर लिन माओवादी बनेको भन्दै थापाको आलोचना गरेका छन् ।
तस्बिरमा अध्यक्ष दाहाल, उनको नजिकै नायिका रेखा, अध्यक्ष शर्मालगायतका नेताहरू छन् । टेबुलमा रहेको भाँडामा समोसा र अन्य खाने परिकार रहेका छन् । सो बैठकको फोटो खिच्न नेता तथा कार्यकर्ता भीड लागेको देखिन्छ ।
प्रत्यक्षतर्फको उम्मेदवार बन्न लागेकी नायिका थापाको चाहना गृह जिल्ला मोरङबाट उम्मेदवारी दिने थियो । रेखाले कांग्रेसका राजेन्द्रहादुर अमात्य र तराई मधेस लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तवसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
श्रीवास्तव वीरगञ्जका पूर्वमेयर हुन् भने राजेन्द्र सहिद तेजबहादुरका छोरा हुन् । त्यस क्षेत्रमा अघिल्लो संविधानसभा चुनावमा एमाओवादीको जमानत जफत भएको थियो । (सौस)

प्रतिक्रिया