आम्दानीको स्रोत बन्दै वनतरकारी

Ban-Tarkariधनगढी, ६ असोज । वन जंगलमा पाइने विभिन्न जातका वनतरकारी विपन्न समुदायका लागि राम्रो आम्दानीको स्रोत बन्न पुगेको छ । वर्षायाममा आफँै वनजंगलमा उम्रने वनतरकारीको बजारमा दिनप्रतिदिन माग बढ्न थालेपछि विपन्न समुदायको प्रमुख आम्दानीको स्रोत बन्न पुगेको हो । दुई/तीन वर्ष यता वनजंगलमा पाइने तरकारीको माग बढेको छ ।

वनजंगलमा उम्रेर त्यसै खेर जाने तरकारीको माग बढ्न थालेपछि आजभोलि ग्रामीण भेगका बासिन्दाहरूलाई टिपेर बजारसम्म पुर्‍याउन भ्याइनभ्याई हुनेगरेको सहजपुरका कृष्ण बोहराले बताए । वनजंगलमा आफँै उम्रेको तरकारी बजारमा राम्रो मूल्यमा खपत हुने र संकलकको पनि खासै मिहिनत नहुने भएकोले आफ्नो लागि पछिल्ला दिनमा वनतरकारी बरदान नै सावित भएको बोहराको भनाइ छ । वर्षायामसँगै वनजंगलमा प्रशस्त मात्रामा पाइने निउँरो, एक पाते घाँस, जिब्रे तथा विभिन्न खाले च्याउ बढी बिक्री हुने गर्छन् । आफैँ उम्रेको वनतरकारीलाई बालबालिकाले विद्यालयबाट आएर टिप्ने गर्छन् । उनीहरूले टिपेर ल्याएको तरकारी आफूहरूले बजारमा लिएर बेच्ने गरेको धनसिंहपुरकी मुक्त कमैया लावती चौधरीले बताइन् ।
‘बजारमा वनतरकारीको माग उच्च रहेकोले मागअनुसार पुर्‍याउन सकिएको छैन्,’ चौधरीले भनिन्, ‘वनजंगलमा खेर गइरहेको तरकारीको माग बढेपछि आजकाल आफूहरूजस्ता विपन्नको प्रमुख आम्दानीको स्रोत बन्न पुगेको छ वनतरकारी ।’ कुनै विषादी प्रयोग नगरिक नै प्राकृतिक रूपमा उम्रेको वनतरकारी अत्यन्तै स्वादिष्ट र स्वास्थ्य प्रबद्र्धक रहेको उपभोक्ताहरूको भनाइ छ । बजारमा विषादी हालेका तरकारीभन्दा सस्तो र स्वास्थ्य प्रबद्र्धक पनि छ त्यसैले आफूले दिनहुँ वनतरकारी खोजेर किन्ने गरेको धनगढी क्याम्पसरोडका अर्जुनदेव गिरीले बताए । कैलाली तथा कञ्चनपुरका सानादेखि ठूला होटलमा पनि वनतरकारी खपत हुनेगरेको छ । ग्राहकले वनतरकारीको माग गर्न थालेपछि आजकाल आफूले खोजीखोजी वनतरकारी किन्ने गरेको धनगढीस्थित डिभोटी होटलका कर्मचारीहरूले बताए ।
वनतरकारीको मा ग बढ्दै गएपछि त्यसको भाउ पनि बढेको छ । खेतबारीमा उत्पादन गरेको तरकारीभन्दा महंगोमा बिक्री हुन थालेको कृषक जगुराम चौधरी बताउछन् । बजारमा वनतरकारीको उच्चमाग भएपछि पहाडका डोटी, डडेल्धुरा, बैतडी जिल्लालगायतबाट दिनहुँ बस तथा ट्रकमा ठूलो परिणाममा ढुवानी गरेर ल्याउने गरिएको छ ।
वनजंगलमा आफैँ उत्पादन भएको निउरोप्रति मुठा सात रुपियाँ, पुट्की च्याउप्रति किलो ६ सयसम्म, एक पाते ७० रुपियाँ किलो, उन्यू र जिब्रेप्रति किलो डेढ सय रुपियाँसम्ममा बिक्री हुनेगरेको छ । स्थानीय सामुदाकि वन, ताल तलाउ, राष्ट्रिय वनमा उम्रेको वन तरकारी टिपेर त्यसबाट दैनिक सरदर आठ सयसम्म कमाइ हुनेगरेको छ । यसले गर्दा घरखर्च चलाउन र बालबच्चालाई पढाइ खर्च जुटाउन सजिलो भएको बोहराले बताए । ‘सुरुसुरुमा आफँैले बजारसम्म पुर्‍याउने पर्दथ्यो तर आजकाल तरकारी व्यापारीहरू वनतरकारी खोज्दै घरमै आउने गरेका छन्,’ बोहराले भने ।
वर्षायामसँगै बजारमा हरियो र अन्य तरकारीको अभाव हुने गर्छ । तर, वनतरकारी प्रयोग गर्न थालेपछि तरकारीको अभाव टरेको होटल सञ्चालकहरूको भनाइ छ । तरकारीको अभाव भइरहेको बेला वनतरकारीले होटल सञ्चालकहरूलाई ठूलो फाइदा गरेको छ भने अर्कोतिर विपन्न समुदायलाई आम्दानीको राम्रो स्रोत बनेको धनगढीको धामी होटलका सञ्चालक रूपेस धामीले बताए ।

प्रतिक्रिया