असोज नौं र दशको नेपाल बन्द फिर्ता

maobadisकाठमाडौं, ५ असोज । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले असोज नौं र दश गतेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
नेकपा–माओवादीको पार्टी मुख्यालय बुद्धनगरमा आज (शनिबार) बसेको बैठकले असोज–९ र १० गतेको बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
संविधानसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको ३३ दलीय मोर्चाले चुनावी कार्यक्रम विथोल्न बन्द घोषणा गरेको थियो ।
प्रमुख दलहरुको आग्रहमा निर्वाचन आयोगले असोज–९ गते र १० गतेको चुनावी कार्यक्रम सारेको छ ।

प्रेस नोट
आज मिति २०७० असोज ५ गते ३३ दलीय मोर्चाको बैठक नेकपा–माओवादीको कार्यालय, बुद्धनगरमा बसी निम्न निर्णयहरु गरिएको छ ।
१. यही असोज ७ गते दिउँसो १.०० बजे काठमाडौंको खुला मञ्चमा हुने विरोध सभालाई भव्यताकासाथ सम्पन्न गर्ने ।
२. यही असोज ९ र १० गते नेपाल बन्दको आयोजना गरिएकोमा हालको लागि स्थगन गरिएको छ । आन्दोलनका थप कार्यक्रमहरु मोर्चाको अर्को बैठक बसी निश्चित गर्ने ।
३. हालै नेपाल सरकारले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयको विरोध गर्ने र राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु भनेको वृहत शान्ति सम्झौताको गम्भीर उल्लङ्घन हो र युद्धको घोषणा गरी द्वन्द्व निम्त्याउनु पनि हो । अतः उक्त निर्णय अविलम्ब बदर गर्न माग गर्ने ।
४. भारतीय सुरक्षाकर्मीद्वारा २ जना भारतीयहरुलाई नेपाली भूमिबाट गिरफ्तार गरेको घटना सेलाउन नपाउँदै यही असोज २ गते बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा भारतीय प्रहरी प्रवेश गरी नेपालीको घरमा खानतलाशी गरेको छ । यसरी नेपालको सार्वभौम अधिकारमाथि पटक–पटक गरिएको हस्तक्षेपको विरोध गर्नेे ।
५. यही असोज ३ गते अमेरिकी वायुसेनाको विमान नेपालको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी ३ घण्टासम्म गोप्य सामानहरु झारेको घटनाबारे हाम्रो मोर्चाको ध्यानाकर्षण भएको छ । नेपालको भूमिमा अमेरिकी सेनाको विमान अवतरण गरिनु र गोप्य सामानहरु झारिनु रहस्यमय बनेको छ । गैरफौजी कुटनीतिक सामानहरु थिए भने सैन्य विमान किन प्रयोग गरियो ? अतः उक्त घटनाको विरोध गर्दै रहस्यमय सामानहरु बारे सार्वजनिक रुपमा सुसूचित गराउन सरकारसँग माग गर्ने ।
मिति : २०७० असोज ५
देव गुरुङ
३३ दलीय राजनीतिक मोर्चा

प्रतिक्रिया