‘संवैधानिक/कुटनीतिक निकायमा पदपूर्ति गरौं’

baluwatarकाठमाडौं, ५ असोज । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका एमाले अध्यक्ष झलनाथ खनालले रिक्त रहेको संवैधानिक र कुटनीतिक निकायका पदाधिकारी नियुक्ति गर्न प्रस्तव गरेका छन् ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग उनकै सरकारी निवास बालुवाटारमा आज (शनिबार) भएको भेटवार्ताका क्रममा खनालले कुटनीतिक, संवैधानिक निकायमा रिक्त पदपूर्तिलगायतका रिक्त स्थानमा पदाधिकारी नियुक्ति गर्न आग्रह गरेका हुन् ।
सार्क महासचिव, विभिन्न कुटनीतिक नियोगहरुमा रिक्त पद, राजदूत, राष्ट्रिय मानव अधिकार आयोगलगायत अन्य संवैधानिक निकायहरुमा रिक्त पदपूर्ति गर्नुपर्ने अध्यक्ष खनालको प्रस्ताव रहेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।
खनालको सो प्रस्तावमा अध्यक्ष रेग्मीले समग्र विषयमा छिट्टै छलफल गरी आवश्यक पहल गर्न आश्वासन दिए ।
भेटवार्तामा रेग्मी संविधानसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन सरकार पूर्ण तयारीका साथ दृढतापूर्वक क्रियाशील रहेको जानकारी गराए ।
रेग्मीले निर्वाचनको वातावरण निर्माणमा दलहरुको सकृय भूमिका बनाई दिन खनालसँग आग्रह गरे । ‘नेपाली जनताको संविधान निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने विषयका लागि निर्वाचन एकमात्र विकल्प भएको हुँदा निर्वाचन प्रकृयाप्रति फरक धारणा राख्ने राजनीनिक दलहरु समेत संविधानसभाको निर्वाचनमा सहभागी बन्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया