दुई वर्षपछि प्रहरी फन्दामा

काठमाडौं, ५ असोज । वैदेशिक रोजगार न्यायाधीकरणबाट ठगीको आरोपमा कैद र जरिवाना तोकिएका एक अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन् । वैदेशिक रोजगारमा पठाई दिने भन्दै केही व्यक्तिबाट रकम असुल गरेको अभियोगमा काभ्रे–७ फलाटेका पेमा लामालाई न्यायाधीकरणले कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसला आए लगत्तै फरार भएका लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार काठमाडांैको जोरपाटीबाट पक्राउ गरेको हो ।

लामालाई न्यायाधीकरणले २ असोज २०६८ मा ६ लाख ७५ हजार रकम असुल गरेको ठहर गर्दै डेढ वर्ष कैद सजाय सुनाएको थियो । काभ्रे घर भए पनि लामो समयदेखि काठमाडांैको बौद्धमा बस्दै आएका लामालाई प्रहरीले पक्राउ लगत्तै काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।
लामाले आकर्षक रोजगारका लागि हङ्कङ पठाइ दिने प्रलोभन देखाइ तीर्थ घिसिङबाट तीन लाख ५० हजार लिएको उजुरी न्यायाधीकरणमा परेपछि छानबिन सुरु भएको थियो । छानबिनपछि उनले वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कानुनी इजाजत–पत्रविना कम्पनी सञ्चालन गरेको र घिसिङलाई विदेश पठाइ दिने बहानामा भारत लगी अलपत्र पारेको फैसला न्यायाधीकरणले सुनाएको थियो ।

प्रतिक्रिया