पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन अस्वीकार

nepal_oil_corporation_काठमाडौं, ५ असोज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा आन्दोलनरत विद्यार्थी र नेपाल आयल निगमबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

निगमले बढेको मूल्य फिर्ता गर्न नमानेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी गराए । ‘हामीले चाडपर्वको समयमा बढेको मूल्य फिर्ता गर्नुपर्छ भन्यौँ,’ प्रवक्ता लामिछानेले भने, ‘निगमले मूल्यवृद्धि फिर्ता गर्न अस्वीकार गर्‍यो ।’
निगमले मूल्यवृद्धि फिर्ता नगरेका कारण अब तेस्रो चरणको आन्दोलन घोषणा गरिने लामिछानेले बताए । शुक्रबार दुई चरणमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेको हो । डिजेल र मट्टिलेतको बढेको मूल्य फिर्ता लिनुपर्ने तथा पेट्रोलको मूल्यमा केही कम गर्नुपर्ने प्रस्ताव निगमले अस्वीकार गरेको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरूले बिहीबार निगमको बबरमहल कार्यालयमा कर्मचारीलाई प्रवेश रोक लगाएका थिए ।
उनीहरूले विहान ९ बजेदेखि दुई घन्टा निगमको कार्यालय घेराउ गरी कर्मचारीलाई प्रवेशमा रोक लगाएका थिए । निगम सञ्चालक समितिको बैठकले २६ भदौमा पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपियाँ मूल्य बढाएको थियो । मूल्यवृद्धिपछि पेट्रोल प्रटिलिटर एक सय ३०, डिजेल र मट्टितेल प्रतिलिटर एक सय तीन रुपियाँ पुगेको छ ।

प्रतिक्रिया