खोजखबर

यातायातबाट ठगी

सौर्य अनलाइन २०७० असोज ४ गते ०:१४ मा प्रकाशित

नुवाकोट : देउराली र बुङताङसहित १० गाविसका बासिन्दाले यातायात व्यवसायीबाट ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

त्रिशूलीबाट देउरालीसम्मको १५ किमी सडकको सवारी भाडा ९० रुपियाँ लिएको भन्दै भाडा समायोजनको मागसहित स्थानीयवासीले जिप्रकामा उजुरी दिएका हुन् । देउरालीसम्म ग्राभेल मोटरबाटो भए पनि पासाङल्हामु यातायात सेवा समितिका बसको साथै मिनीट्रकले पनि ९० रुपियाँ भाडा असुल गर्दै आएको भूमेदेवी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर तामाङले बताए ।
जिप्रकाले भाडादर निर्धारण गर्दा ६ रुपियाँ तोके पनि बस व्यवसायीले ३० रुपियाँ बढी असुल गर्दै आएको अध्यक्ष तामाङ बताउछन । एक सयभन्दा बढी स्थानीय बासिन्दा सदरमुकाम आएर प्रजिअ डुल्लुराज बस्नेतलाई भेटी बस व्यवसायीको मनपरी भाडा दर घटाउन आग्रह गरेका हुन् ।
यस्तै त्रिशूली–गल्छी सडक खण्डमा पनि माइक्रो तथा बस व्यवसायीले प्रतिव्यक्ति ५० रुपियाँ बढी भाडा असुलेका छन् । सरकारी मापदण्ड अनुसार त्रिशूलीदेखि गल्छीसम्मको पक्की सडकको भाडा ५० रुपियाँ भए पनि व्यवसायीले एक सय असुल गरिरहेका छन् । प्रजिअ बस्नेतले बढी भाडा लिने व्यवसायीलाई कारवाही गर्न र तत्काल तोकिएको भाडा दरमा यातायात सञ्चालन गर्न प्रशासनले कदम चाल्ने आश्वासन दिए । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय