टिकटका लागि लबिङ

धनगढी, ४ असोज । आगामी संविधानसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका नौ जिल्लाबाट विभिन्न दलबाट नाम सिफारिस भएकाहरू टिकटका लागि राजधानीमा केन्द्रित हुन थालेका छन् ।

प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नका लागि आ–आफ्नो दलबाट टिकटका लागि सिफारिस भएकाहरू आफ्नो पक्षमा लबिङ गर्न राजधानी केन्द्रित भएका हुन् । जिल्लामा कुनै पनि दलले निर्वाचन प्रचारप्रसारका लागि खासै कार्यक्रम सञ्चालन गरेको छैनन् । तर, उम्मेदवारका लागि सिफारिस भएका व्यक्ति भने टिकट सुनिश्चित गर्न आफूनिकट नेता कहाँ धाइरहेका छन् ।
जिल्ला तथा क्षेत्रबाट सिफारिसमा परेका नेताहरू राजधानीतिर लागेपछि निर्वाचनको चहलपहल जिल्लामा कम भएको छ । एमाओवादी, कांग्रेस र एमालेले आ आफ्नो जिल्ला तथा क्षेत्रमा फर्केर चुनावको प्रचारप्रसार गर्न निर्देशन दिए पनि यस क्षेत्रबाट राजधानी गएका सयौं नेता र कार्यकर्ताहरू जिल्ला फर्किएका छैनन् ।
आगामी संविधानसभा निर्वाचनमा कैलालीका छ क्षेत्रका लागि एकीकृत नेकपा माओवादीले जिल्लाबाट ४५ जनाको नाम सिफारिस गरी केन्द्रीय कमिटीलाई पठाएको जिल्ला सचिव विमल धामीले बताए ।
नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ४८ र समानुपातिकतर्फ ७९ गरी एक सय २७ जनाको नाम सिफारिस गरेको जनाइएको छ ।
कांग्रेसले प्रत्येक क्षेत्रीय समितिलाई प्रत्यक्षमा तीन जना तथा समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि जिल्लाबाट तीन गुनाबढीको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेले प्रत्यक्षतर्फ १६ र समानुपातिकतर्फ ४५ गरी ६१ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
मधेशी जनअधिकार फोरमका सेती महाकाली इन्चार्ज प्रेमचन्द्र झाले कैलालीबाट प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ सात गरी १७ जनाको नाम केन्द्रीय समितिमा सिफारिस भएको जानकारी दिए ।
उता, बझाङमा एमाओवादी, नेपाली कांग्रेस र एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी झन्डै एक सय उम्मेदवारको नाम सिफारिस गरिएको छ । बझाङमा दुई निर्वाचन क्षेत्र रहेका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामा गरी २१ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा बढी कैलालीमा छवटा तथा दार्चुला, बाजुरा र डडेल्लधुरामा एक/एक निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा चार, बझाङ, डोटी, अछाम र बैतडीमा दुई/दुई निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया