रंग‍-विविध

अन्तत: दीपक र दीपाले लिए ट्राफिक कक्षा

सौर्य अनलाइन २०७० असोज ३ गते ०:२० मा प्रकाशित

Deepa-n-Deepakकाठमाडौं : मरिगए पनि ट्राफिक प्रहरीको सचेतना कक्षामा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका हास्यकलाकार दीपकराज गिरीको अन्तत केही चलेन । मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ट्राफिक कारबाहीमा परेका दीपक र दीपाले सचेतना कक्षा लिन आनाकानी गर्दै आएका थिए । लामो समयदेखि ट्राफिक महाशाखामा रहेको लाइसेन्स लिन नआएका दीपक र दीपाका बारेमा आमसञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि उनीहरू निकै आक्रोशित बने । तीतो–सत्यका चर्चित जोडी दीपक र दीपाले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रहरीले आफूहरूको बदनाम गर्न खोजेको आरोपसमेत लगाए । दीपकले विज्ञप्तिमा प्रस्टै भनेका थिए, ‘म मरिगए पनि ट्राफिकको सचेतना कक्षामा सहभागी हुन्नँ ।’
तर, यता ट्राफिक महाशाखाका डिआइजी केशवराज अधिकारीले भने जोसुकै व्यक्ति भए पनि सचेतना कक्षामा सहभागी नभई लाइसेन्स दिनै नसकिने स्पष्ट पारेपछि दीपक र दीपा बाध्य भएर कक्षा लिएका हुन् । उनीहरूले कक्षामा सहभागी भएपछि महिनौँदेखि महाशाखामा रहेको लाइसेन्स पनि लिएर गएको प्रहरीले जनाएको छ । डिआइजी अधिकारीभन्दा अघिका महाशाखा प्रमुख उपेन्द्रकान्त अर्याल र दीपक दीपाबीच एउटा समझदारी भएको थियो । समझदारीअनुसार दीपक दीपाले सचेतना कक्षा नलिए उनीहरूले ट्राफिकसम्बन्धी नि:शुल्क सचेतना कार्यक्रम बनाउनुपर्ने थियो । तर, डिआइजी अर्यालको ठाउँमा अधिकारी आएपछि उनले यसअघि भएको सहमति अस्वीकार गर्दै सचेतना कक्षामा अनिवार्य सहभागी हुनुपर्ने बताएपछि अन्तत: दीपक र दीपाले कक्षा लिएका हुन् । केही समयअघि नायक भुवन केसीले पनि सचेतना कक्षा लिएका थिए । उनले पनि लाइसेन्स लिन विभिन्न व्यक्तिहरूको फोर्स लगाए पनि डिआइजी अधिकारीले नमानेपछि केसी पनि सचेतना कक्षामा सहभागी भएका थिए । मापसे कारबाहीमा परेर लामो समयदेखि लाइसेन्स लिन नआएका हजारौँ व्यक्तिका लाइसेन्स ट्राफिक महाशाखामा छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय