चार करोडको केरा नष्ट

चितवन : मुसलधारे वर्षासँगै आएको हावाहुरीले चितवनमा चार करोड रुपियाँ बराबरको केरा नष्ट गरेको छ ।

हावाहुरीले १ सयभन्दा बढी किसानले ३ सय बिघा क्षेत्रफलमा लगाएको केरा नष्ट गरेको चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए । जिल्लामा केरा व्यवसायमा भएको यो क्षति अहिलेसम्मकै ठूलो रहेको सुवेदीको भनाइ छ ।
यो क्षतिको सोध भर्ना गर्न किसानलाई करिब पाँच वर्ष लाग्नेछ । हावाहुरीले क्षति पुर्‍याएपछि चितवनको केरा व्यवसायको विकास १० वर्षपछाडि धकेलिएको समितिका उपाध्यक्ष विष्णुुुहरि पन्तले बताए । उनले भने, ‘यसको क्षतिपूर्ति राज्यले दिनुपर्छ । हावाहुरीका कारण रत्ननगर नगरपालिकाको वडा नं ९, ११ र १३, जुटपानी, पिठुवा, पदमपुर गाविसलगायत क्षेत्रमा लगाएको केरा नष्ट भएको छ ।’
उद्योग वाणिज्य महासंघ र नेपाल सरकारको सहकार्यमा सञ्चालित एक गाउँ एक उत्पादन अभियानअन्तर्गत रत्ननगरलाई केराको पकेट क्षेत्रका रूपमा विकास गर्ने अभियान सञ्चालनमा छ । दसैँमा उत्पादन हुनेगरी लगाइएको हरियो जातको विलियम हाइब्रिड केराका अधिकांश बोट ढलेका छन् । (सौस)

प्रतिक्रिया