प्रलोभनमा पर्नु हुँदैन पार्टी

Makbul-Saha‘ओहो, त्यो त एउटा भयानक कालरात्रि थियो † डरलाग्दो सपनाजस्तो † सुनामीको लहरले सर्वत्र ढाकेजस्तो † म सायद जीवनमा कसैगरी पनि कहिल्यै त्यो रात र त्यस रातको घटना भुल्न सक्दिनँ । किनभने, त्यो समयमा म मृत्युको मुखमा पुगेर पनि फर्किएको थिएँ । यस्तो अनुभव थियो त्यो, जसलाई जति शब्दकोश पल्टाए पनि वाक्यमा व्यक्त गर्न सकिँदैन ।

‘आफ्नो व्यापारको सिलसिलामा ती दिनमा म सल्यानको देवस्थल गाविसमा बस्थेँ । व्यापार सँगसँगै एमालेको राजनीतिमा पनि उत्तिकै सक्रिय थिएँ । मलाई थाहा थिएन, मेरा लागि सल्यान बसाइँ जीवनकै एक अविस्मरणीय क्षण बन्नेछ । आँखाअगाडि हाम्रो देशको इतिहासको एउटा खास कालखण्डका घटना सल्बलाउन थाल्छन् । देशमा तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धले उचाइ लिँदै थियो । उनीहरूको चर्को बिगबिगीमा फरक राजनीतिक आस्था राख्नेहरूलाई गाउँमा बस्ने अवस्था नै थिएन । तैपनि, म माओवादी द्वन्द्वको परवाह नै नगरी हाम्रो पार्टी एमालेको राजनीतिक लाइन जनताको बहुदलीय जनवाद (जबज) लाई जनताका बीचमा स्थापित गराउने अभियानमा सक्रिय थिएँ,’ उनलाई सम्झना छ ।
उनको यो सक्रियता गाउँ र जंगलमा अघोषित राज चलाइरहेका तत्कालीन माओवादी गुरिल्लालाई मन पर्ने कुरा थिएन । माओवादी समूहले रातिको समयमा उनीमाथि आक्रमण गऱ्यो । शाह फेरि त्यो दिन सम्झन्छन् र भन्छन्, ‘मैले कहिल्यै नबिर्सने त्यो ०५६ साल पुस २७ गतेको रात थियो । हामी परिवार घरमा बसिरहेका थियौँ । अचानक ह्वारह्वार्ती एक हुल माओवादी हामीसामु आइपुग्यो र मेरो पसल लुट्न थाल्यो । पसल लुटपाटका साथै उनीहरूले ममाथि शारीरिक आक्रमण सुरु गरे । गोली प्रहार गरे र टाउकोमा बन्चरोले हाने । अरू पनि धेरै कुटपिट गरे । अनि आखिरमा मलाई अब यो मर्‍यो भनेर त्यत्तिकै छाडी उनीहरू पसलका सामान र भएको नगद लिएर त्यहाँबाट गए ।’
गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भारत लगियो । एक महिनाको उपचारपछि उनी निको भएर घर फर्किए । उपचारमा लाखौँ खर्च भयो तर त्यतिबेला उनले सरकारबाट १८ हजार रुपियाँ मात्र सहयोग पाए । ०५६ सालको आमनिर्वाचनमा उनलाई पार्टीले सुर्खेत निर्वाचन क्षेत्र नं. १ र सल्यान निर्वाचन क्षेत्र नं. १ को जिम्मा दिएको थियो ।
०००
संगतले जीवनमा धेरै अर्थ राख्छ । मान्छे बिग्रने, सप्रिने, अगाडि बढ्ने, पछाडि पर्ने, विचारवान वा विचारहीन हुने, सामान्य रहने अथवा महत्वाकांक्षी भविष्यको सोच बनाएर त्यसलाई हासिल गर्न लागिपर्ने यावत् कुराहरू केही अपवादलाई छाडेर संगतबाट धेरै हदसम्म प्रभावित भएका हुन्छन् । ‘संगत गुनाको फल’ भन्ने उखान त्यसै विकसित भएको होइन, नेपाली समाजमा । संगतकै कुरा कुरा गर्दा कम्युनिस्ट राजनीतिमा लामो समय बिताए कपिलवस्तुवासी उत्साही मक्बुल शाहलाई सम्झन सकिन्छ ।
मक्बुलको पारिवारिक पृष्ठभूमि कम्युनिस्ट होइन । उनका हजुरबुवा पञ्चायतकालका वडाध्यक्ष थिए । त्यसैताका ०३१ सालमा अर्घाखाँची जिल्लाको बल्कोट गाविसमा मक्बुल जन्मिएका थिए र उनी विद्यालय पढ्दादेखि नै कम्युनिस्ट राजनीतिप्रति आकर्षित बनेका थिए ।
पञ्चायतकालमा दलहरूमाथि प्रतिबन्ध लागेकाले कम्युनिस्ट नेताहरू भूमिगत रहेर पार्टीका राजनीतिक गतिविधि अगाडि बढाउँथे । त्यतिबेला अर्घाखाँची पुग्ने अधिकांश नेताहरूको सेल्टर नै उनी जन्मिएको गाउँ रहेछ । गाउँघर डुल्दा–चहार्दा र अन्य वामप्रभावित दमालीसित बसाउठीले उनी भूमिगत कम्युनिस्ट नेताहरूका कुरा सुन्न र भेट्न पाउन थाले । ती नेताका कुरा उनलाई राम्रो लाग्न थाले । यसरी निरन्तर प्रभावित हुँदै गएपछि शाह पनि पछि गएर कम्युनिस्ट बने । उनी भन्छन्, ‘मोदनाथ प्रश्रित, जयप्रसाद किसान, लक्ष्मण रायमाझी लगायतका नेताहरू हाम्रो गाउँमै लुकेर बस्थे । उनीहरूले कम्युनिस्ट व्यवस्थाबारे हामीलाई भन्थे । मलाई उनीहरूका कुराले आकर्षित गर्‍यो । त्यसपछि म पनि पञ्चायतकालमै कम्युनिस्ट बनेँ ।’
त्यो ०४४ सालतिरको कुरा हो । उनी त्यसपछि स्थानीय महेन्द्रविद्याबोध उमाविमा अनेरास्ववियुमा संगठित भए । पञ्चायती पृष्ठभूमि भएको परिवारमा जन्मिएका उनलाई के परिवारको साथ रह्यो त ? उनी भन्छन्, ‘म अखिलमा आबद्ध भएपछि त मेरो परिवार नै सबै कम्युनिस्ट भइहाल्यो नि । मलाई परिवारबाट कुनै रोकटोक भएन ।’ उनले त्यसपछि मीनभवन क्याम्पसमा पनि अखिलमा आबद्ध भएर सक्रिय राजनीति अगाडि बढाए ।
०००
०५३ सालमा व्यापारको सिलसिलामा मक्बुल सुर्खेतमा बसाइँ सरे । साथै, राजनीतिलाई पनि निरन्तरता दिए । उनले सुर्खेत जिल्लाको छिन्चु गाविस सचिव भएर काम गरे । उनलाई पार्टीले त्यतिबेला सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र न. १ को कमान्डर बनाएको थियो । उनी भन्छन्, ‘मैले लामो समय पार्टी काममा बिताएँ । त्यस क्षेत्रमा एमालेको संगठन विस्तारमा पूरा समय मैले दिएँ ।’
शाहको बसाई सुर्खेतमै सीमित भएन । व्यापारीक प्रयोजनकै लागि उनी सुर्खेतबाट सल्यान पुगे, जहाँ उनको भेट प्रकाश ज्वालासंग भयो । ‘म सल्यान पुग्दा प्रकाश ज्वाला पार्टी सचिव हुनुहुन्थ्यो । शंकर पोखरेल अञ्चल इन्चार्ज हुनुहुन्थ्यो । उहाँहरूसँग नजिक भएर मैले काम गर्ने मौका पाएँ,’ शाहले भने, ‘उहाँहरूसँगको संगतले मलाई राजनीतिमा झन् सक्रिय बनायो ।’
‘हेर्नुस् मैले कहिल्यै पनि आºनो स्वार्थका लागि राजनीति गरिनँ, सधैँ जबजलाई कसरी जनताका बीच स्थापित गर्न सकिन्छ भनेर म लागिरहँे,’ शाहले भने, ‘माओवादी सशस्त्र द्वन्द्वको जगजगी भएका बेला समेत म गाउँगाउँमा संगठनको काममा सक्रिय थिए । मलाई माओवादीले मार्न खोजे । धन्य, म बाँचेँ ।’
माओवादीले सारा सम्पत्ति लुटेपछि उनले सल्यान छाडे । ‘मेरो ठूलो व्यापार थियो सल्यानमा तर माओवादीले ओढ्ने–ओछ्याउने समेत लुटेर लगे, सल्यान छाड्दा मसँग पकाउने भाँडाकँुडाबाहेक अरू केही थिएन । त्यही बोकेर म कपिलवस्तु आएको हुँ,’ उनले विगत सुनाए ।
उनी व्यापारको सिलसिलामा जहाँ गए, एमालेको राजनीतिक यात्रालाई पनि निरन्तरता दिइरहे । कपिलवस्तुबाट ०५७ सालमा बुटवल बसाइँ सरेपछि उनको सम्पर्क पार्टीको हाइकमान्डसँग हुन थाल्यो । ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा बुटवलबाट सक्रिय सहभागी भए ।
०००
राजाको सक्रिय शासनका बेला भूमिगत रहेका झलनाथ खनाललाई आफूले नै बुटवलबाट सुनौली पार गराएको उनी बताउँछन् । ‘सरकारी सुरक्षा निकायले हामीलाई पिछा गरिरहेका थिए तर मैले योजनाबद्ध रूपमा खनाललाई सीमापार गराए । पछि मलाई प्रहरीले केरकारसमेत गरेको थियो,’ उनले भने ।
बुटवलमा भएको पार्टीको आठौँ महाधिवेशनबाट लुम्बिनी अञ्चल विभाग सदस्य बने, शाह ।
करीब तीन दशकदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेर शाहले त्यसबाट के पाए त ? प्रश्न राख्न नपाउँदै उनले भने, ‘राजनीति केही पाउनलाई गर्ने होइन । यो त समाज परिवर्तन र अन्यायका विरुद्ध लड्ने धर्म हो ।’ आफू अहिले पनि यो बिचारमा अडिग रहेको उनले दाबी गरे ।
अहिले राजनीतिमा नैतिकताको खडेरी परेको शाहको बुझाइ छ । उनी भन्छन्, ‘निष्ठा र इमानदार नेता तथा कार्यकर्ता भन्दा पनि नेताहरूको चाकडी गर्नेहरूले नै लाभको पद लिन्छन्, यो एकदम गलत प्रवृत्ति हो । यसको अन्त्य हुनु जरुरी छ ।’
दोस्रो संविधानसभा निर्वाचनमा मुस्लिम समुदायबाट समानुपातिकमा सिफारिस पाँच जनामध्ये शीर्ष स्थानमा उनकै नाम छ । ‘एमाले पार्टीमा लामो समयदेखिको मेरो राजनीतिक सक्रियता र योगदानकै कारण आफूलाई पहिलो नम्बरमा सिफारिस गरिएको’ उनको दाबी छ । ‘म पार्टीले मलाई नै सभासद् बनाओस् भन्दिनँ तर सभासद् छनोटका लागि एउटा क्राइटेरिया बनाओस् । त्यसबाट जो छानिए पनि मलाई आपत्ति छैन,’ शाहले भने, ‘तर कसैको प्रलोभनमा परेर पार्टीले गलत निर्णय नलेओस् । मेरो आग्रह यत्ति हो ।’
आजका दिनसम्म पार्टी भनेर आफू निस्वार्थ तरिकाले लागेको भन्दै शाहले भने, ‘अब भने कार्यकर्ताले पार्टीलाई चिन्ने समय आएको छ । पार्टीले मेरो योगदान र सक्रियतालाई कसरी लिएको रहेछ, म त्यो जान्न उत्सुक छु,’ उनले अगाडि थपे, ‘माओवादीको बन्दुकसँग लडियो । कांग्रेसका खुकुरीसँग लडियो । आखिर केका लागि त ? सधैँ लडिरहने मात्र त भन्ने होइन होला नि † अब पार्टीले सही कार्यकर्ताको सही मूल्यांकन गर्नुपर्छ ।’

प्रस्तुति : खगेन्द्र भण्डारी

प्रतिक्रिया