अझै वार्तामा बस्न तयार छौँ : मोर्चा

काठमाडौं : नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
चुनाव बहिष्कार र वार्ताको ढोकालाई खुलै राख्ने नीति लिएको मोर्चाले मंगलबार पत्रकार सम्मेलन गरी उच्चस्तरीय समितिलाई यस्तो आग्रह गरेको हो । सहमतिका लागि आफूहरू फेरि वार्तामा बस्न तयार रहेको मोर्चाले उल्लेख गरेको छ । मोर्चाले आफूहरू चुनावतिर उन्मुख रहेको अवस्थामा प्रधानन्यायाधीश पदबाट मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको राजीनामा अस्वीकार गरेर समितिमा आबद्ध दलका नेताहरूले असहमतिको दिशामा धकेल्ने काम गरिरहेको आरोप लगाएको छ ।
‘प्रधानन्यायाधीशको राजीनामा अस्वीकार गर्नु गम्भीर ऐतिहासिक भूल मात्र नभएर बृहत् शान्ति–सम्झौताको गम्भीर उल्लंघन हो,’ मोर्चाका तर्फबाट देव गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट विगतको द्वन्द्व व्यवस्थापन हुन नसक्ने मात्र होइन, अरू थप द्वन्द्व निम्त्याउनु हो, त्यसैले ४ दलका नेताहरूले उक्त निर्णयमाथि गम्भीर रूपले पुनर्विचार गर्न हामी पुन: जोडदार माग गर्दछौँ ।’ प्रधानन्यायाधीश पदबाट मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको राजीनामामा सहमत भएको भए चुनाव प्रणाली र मितिलगायत सबै प्रस्तावित विषयमा छलफल हुन सक्ने मोर्चाले जनाएको छ । रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन नमानेको भनी समितिमा आबद्ध दलका नेताहरू राजीनामाका विषयमा निर्णय गर्न तयार नभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया