उर्लाबारीमा गजल गोष्ठी

Gajal-Gosthi-Urlabariधरान, ३१ भदौ । मोती जयन्तीको अवसर पारी जनसाहित्यिक मञ्च मोरङले उर्लाबारीमा गजल गोष्ठी सम्पन्न गरेको छ ।
उर्लाबारी गजल मञ्चसँगको सहकार्यमा सुनसरी, मोरङ, झापा, इलामलगायतका जिल्लाका चार दर्जन स्रष्टाले गजल, कविता र मुक्तक प्रस्तुत गरेका थिए । गर्मीको परवाह नगरी उर्लाबारी स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको हलमा भेला भएका स्रष्टाले खलखल पसिना काढ्दै रचना प्रस्तुत गरे । मोरङका गजलकार घनश्याम पथिक, युवराज भण्डारी, रोहित पराईलगायतका चोटिला गजलले उपस्थित स्रष्टाको वाहवाही पाएका थिए भने श्रीसिसा राई, सीमा आभास, ज्योति जंगल, विवश बलिभद्र कोइराला, तारा पराजुली, तारानाथ पोखरेललगायतका गजल तथा कविता प्रस्तुतिले हल गुन्जायमान थियो ।
जनसाहित्यिक मञ्चका केन्द्रीय उपाध्यक्ष डा.भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा समालोचक उपेन्द्र पागल, देवी नेपाल र शिव रेग्मी प्रणतले टिप्पणी गरेका थिए । कार्यक्रममा वक्ताहरूले राजधानीले मोफसलको योगदानलाई नजरअन्दाज गरी गजललाई उपविधामा सीमित राख्न खोजेकामा असन्तुष्टी जनाएका थिए । समालोचक देवी नेपालले गजल लेखनमा आएको तीव्र र गुणस्तरीय लेखनले गजल अब उपविधाका रूपमा मात्र सीमित रहन नसक्ने देखिएको बताए ।

प्रतिक्रिया