खै साहिँलाउ, जनकलाकार

Rajan_Raiकुनै बेला थियो, मुलुकमा पञ्चायती शासनको जगजगी थियो र सबैतिर निर्दलीय नामधारी मनुवाहरूको अँध्यारो राज थियो । गाउँठाउँमा राजनीतिक पार्टीका नेता जान सक्दैनथे । राजा र राजपरिवारको गुणगान गाउने ‘राजनीति’ बाहेक अन्य दलीय राजनीतिक गतिविधि प्रतिबन्धित थिए । त्यस्तो बेला आमजनताका बीचमा जाने एक भरपर्दौ माध्यम बनेको थियो– गीत र संगीत, जसलाई जनसंस्कृति र जनकलाकारको आवाज भनेर चिनिन्थ्यो । २०४६ को ऐतिहासिक परिवर्तन अघिसम्म जनताका ती गायक–कलाकारहरूको ठूलो भाउ थियो । प्रतिबन्धमा रहेकाले भूमिगत बनेर पञ्चायतविरोधी राजनीति गरिरहेका पार्टी उनीहरूको खोजी गर्थे, आफ्ना भावनाहरू गीत र संगीतमा उनिएर बढीभन्दा बढी जनताका बीचमा पुुुुुर्‍याउन सकियोस् भनेर । जनकलाकारहरूको प्रतिष्ठा पनि उत्तिकै प्रशंसनीय थियो । जनकलाकार जहाँ उपस्थित हुन्थे, त्यहाँ आफ्नै लाग्ने जनजिन्दगानीका दु:ख–सुख बोकेका सुमधुर गीत सुन्न जनताको ठूलो भिड ओइरिरन्थ्यो । तर, अब समय फेरिएको छ, शासनसत्ताहरू परिवर्तन भएका छन् । निर्दलीय सत्ता इतिहासको अँध्यारोमा हराइसकेको छ । समयको त्यो कालखण्डमा भूमिगत बनाइएका दलहरू सत्तासीन हुन आइपुगे । अब दल, नेता र जनताबीच प्रत्यक्ष संवाद र अन्तरक्रिया हुनु सामान्य भयो ।
परिवर्तनले समयको स्वाद पनि फेरिदिएको छ, राजनीतिक पार्टीहरूका हित र स्वार्थ पनि फरक भएका छन् । कसलाई निकट राख्ने र कसलाई उपेक्षा गर्ने कूटनीतिमा दलहरू माहिर बन्दै गएका छन् । कुनै बेला तिनै पार्टीको रोजाइमा पर्ने जनताका ती कलाकार अचेल लगभग ‘डेट एक्सपायर’ जस्ता भएका छन्, ‘आउटडेटेड’ भएका छन् । त्यही कारण हो, हिजोका ती बहुसंख्यक तप्कामा सर्वसम्मानित जनकलाकारभन्दा सुगम संगीतका आधुनिक कलाकारहरू रोज्ने होडबाजी पार्टीहरूमा चलेको छ । हिजो ‘साम्राज्यवादी’ र ‘छाडा पुँजीवादी संस्कृति’ भन्दै चर्को आवाज उराल्नेहरूको फेरिएको रबैयाले गर्दा भरिया, ज्यामी, किसान, मजदुर र खेतालाका कलाकार अचेल ओझेलमा परेका छन् ।
राजन राई पनि जनवादी गायक थिए र अझै पनि हुन्, उनी जनताका गीत गाउन मन पराउँछन् । उनले पछिल्ला चार दशकमा नेपाली समाजका तमाम उतार चढाव देखे । संगत र वातावरणले गर्दा आफ्नो स्वरको प्रतिभालाई उनले मुलुकमा प्रगतिशील राजनीतिक शासन व्यवस्थाको स्थापना गर्नुपर्ने सपनालाई फलीभूत पार्ने अभियानलाई सुम्पीदिए । एकपछि अर्को शासन व्यवस्था ढल्दै र उठ्दै गरेको पनि देखे, अनुभव गरे । त्यो विगत र यो वर्तमान उनका लागि अनौठा अनुभूतिले भरिएका छन् । अन्य जेजस्तो भए पनि उनी आफैँसित भने सन्तुष्ट छन् । वर्तमानमा उभिएर उनले आफू र आफ्ना पुराना अनुभवबारे अभिव्यक्ति दिएका छन् ।
यतिबेला मेरो परिचय केही फेरिएको छ । कुनै बेला म नेपालका डाँडापाखामा घुुम्ने गर्थें । पेटभरि खान नपाएका र आङ्ग ढाक्न नपाएका भोका नाङ्गा जनता र तिनका दु:खसास्ती अनि हेपिएका चेली र शोषक सामन्तबाट खेदिएका किसानको पीरमर्का सुसेल्ने गायक मात्र म थिएँ । अहिले गायकीसँगै व्यवसायी र फिलीमको निर्माता पनि भएको छु । गाउँमा गएर जनताको गीत गाउँदा आनन्द लाग्थ्यो, समाज परिवर्तनको अभियानमा जनतालाई गीतमार्फत केही दिँदै छु भनेर । समयसँगै म जागीरे भएँ, व्यवसायी बनेँ । चलचित्रको निर्माता बने । तर, गीत गाउँदाको आनन्द र जनताको माया कहीँ कतैबाट पाउन सकिन ।
मलाई ठूलो भ्रम थियो, संगीत सानो क्षेत्र हो भन्ने । संगीतभन्दा चलचित्र निर्माणमा लाग्नु राम्रो हुन्छ भन्ने लाग्यो । सोचेथँे, चलचित्र फराकिलो क्षेत्र हो । धेरै मान्छेले हेर्छन् । त्यही भ्रममा रहेर फिल्म ‘दृष्टि’ बनाएँ । पहिलो त्यही फिलिम ‘दृष्टि’ प्रदर्शन गर्न युरोप गएको थिएँ । युरोपमा रहेका नेपालीले मलाई आफ्नो औकात देखाइदिए । म कहाँ रहेछु भन्ने कुरो त्यति बेला मैले राम्ररी बुझे ‘हामी त कान थापेर ‘सुनिदेऊ बहिनी, रीतिथिति बिलाउँदै गइसक्यो’ जस्ता गीत गाउने  जनताका गायक राजनलाई भेट्न आएका’ फिलिमको निर्माता राजनलाई हैन’ भन्दै मेरा गीतका सिडि अगाडि सारे । म झसंग भएँ, ओहो π म कति ठूलो भ्रममा रहेछु भनेर । मैले जनताका लागि भनेर गाएका गीत आज पनि जनताका बीचमा कति अजम्बरी रहेछन् † म साँच्चै भ्रममा रहेछु ।
मैले ठूलो क्षेत्र ठानेर निर्माता बन्ने भ्रम त्यही युरोपको यात्राले भताभुंग बनाइदियो । संगीत जस्तो दीर्घकालीन र सबैको मन जित्ने काम दिगो रहेनछ भन्ने लाग्यो । सबैको आग्रहमा त्यहाँ फिलिमको प्रर्दशनसँगै गीत पनि गाएँ । लाग्यो, युरोपमा बस्ने मेरा प्रिय श्रोताले मलाई पुन:जन्म गराइदिए– फेरि त्यही जनताको गायकको मूल परिचय बनाउनुपर्छ भनेर ।
समयसँगै जेजे काम हात हाले पनि गायन मेरो प्रमुख परिचय हो । स्कुल पढ्दादेखि नै गीत गाउथँे । त्यतिबेला पूर्वी नेपालमा जनवादी गायक भनेर चिनिएका रामेश, रायन, मंजुलहरूबाट गाउन सिकँे । गीत गाएकै कारण धेरैपटक पक्राउ परेर प्रहरीको कस्टडीमै धेरै रात बिते । कयौँपटक तत्कालीन पञ्चायतका मन्डलेले कार्यक्रममा ढुंगा वर्षाए । जस्तोसुकै अवस्थामा पनि मन कहिल्यै बिचलित भएन । लाग्थ्यो, समाज परिवर्तनको अभियानमा यस्ता अवरोध आउँदै गर्छन्, हामीले आफ्नो दायित्व पूरा गर्दै जानुपर्छ । समय कठिन थियो । अभाव र समस्याका खात थिए । चाहेको भए अध्ययनका प्रमाणपत्रको आधारमा धेरै कमाउन सकिन्थ्यो । तर, मन कहिल्यै बहकिएन र त्यसरी डाँडाकाँडा मादल बोकेर हिँड्नुभन्दा बरू आनन्दले कुनै पेसामा लागेर पैसा कमाउनुपर्छ भन्ने कहिल्यै लाग्दै लागेन । किनभने, समाजलाई सकारात्मक रूपमा परिवर्तन गर्न भनेर मिसन गायनमा लागेका थियौँ हामी ।
जनताका गीत गाउँदा जति आनन्द अरू कुनै कामले दिएन मलाई । त्यतिबेला जति पनि गाएँ, जनताका भोगाइ र पीडालाई गीतमा उतारेर गाएँ । ‘कान थापेर सुनीदेऊ बहिनी, रीतिथिति बिलाउँदै गइसक्यो’ जस्ता गीत त्यतिबेला नसुन्ने मान्छे बिरलै हुन्थे । सबैले मन पराएका पनि थिए । फरक यति हो, जनताका ती गीत मिडियामा बज्दैन थिए । अहिले जस्तो जनताले सिडिहरूमा सुन्न पाउँदैन थिए । हामी आफँै जनताका बीचमा गएर सामान्य मञ्चमा गाउँथ्यौँ । कयौँपटक मेरो दाजुले गाउथे र म नाच्थेँ ।
पञ्चायती व्यवस्थाको दवदवा थियो । हाम्रा गीत सुन्न मान्छे जम्मा हुन्थे । हामी मञ्च बनाइदिन्थ्यौँ । नेताहरू आएर भाषण गर्थे । जनता नेताका भाषण र हाम्रो गीत सुनेर दंग पर्थे । आज ती नेता कहाँ कहाँ पुगिसके, हामी आफ्नै स्थानमा छौँ । यसमा मलाई कुनै गुनासो छैन । म कसैलाई धारे हात लगाउन चाहन्न । व्यतिmगत रूपमा केही पाउला भनेर जनताका गीत गायनौँ । जनताको मायाको अगाडि अरू सबै भौतिक सुविधा सामान्य हुन् । उनीहरूले दिनेभन्दा बढी मैले जनताको माया पाएको छु, त्यसैमा सन्तुष्ट छु । आफ्नै बुताले जे गरेको छु त्यो धेरै माथि छ । मैले जनतालाई जागृत गर्न जे गरेँ, एक नेपालीको धर्म पूरा गरँे भन्ने लाग्छ । दु:ख केमा छ भने हामीलाई त्यतिबेला आदर्शको कुरा सुनाउने नेताहरू आफँैले नै अचेल ती सारा आदर्श बिर्सेका छन् । हामी उनीहरूले सिकाएका त्यही आदर्शमा अडेका छाँै तर नेता त्यो ठाउँमा टिकिरहन सकेका छैनन् । ती दिन सम्झँदा वितृष्णा जागेर आउँछ ।
जतिबेला झापामा आन्दोलनको आँधीबेहरी थियो, म स्कुल पढ्ने फुच्चे थिएँ । आन्दोलनको प्रभाव ममा पनि पर्‍यो । पहिलोपटक ‘खै साहिला हाम्रो दौरा सुरुवाल, खै हाम्रो मादल, मुर्चुंगा’ भन्ने गीत गाएँ । सबैले राम्रो माने । ममा हौसला बढ्दै गयो । स्कुलमा हुने अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुन्थेँ । त्यति बेलाको बढ्दो वामपन्थी आन्दोलन र म फुच्चेको जोस देखेर सबैले मलाई खोज्थेँ । उनीहरूसँग मेरो संगत बढ्दै गयो । मेरो निकटता वामपन्थीसँग भयो । समय, परिस्थिति र ठाउँअनुसार गीत गाइन्थ्यो । गाउँमा हाम्रो गीत सुन्न मानव सागर उर्लेर आउँथ्यो । जनताको आदर–सत्कार पाइन्थ्यो । जनताको मायासँगै चुनौती पनि थिए । कार्यक्रम चलिरहँदा प्रहरी आएर दु:ख दिन्थेँ । तर, सबै चुनौतीलाई सहज रूपमा लिन्थ्यौँ । कुनै बाधाले पछाडि फर्काउने अवस्था थिएन । गाउँका जनताले खुवाएको काँचो भात पनि मीठो लाग्थ्यो । परालमा रात बिताउँदा पनि आनन्द लाग्थ्यो । हामी सचेतताका साथ लागेका कारणले कुनै दु:ख महसुस हुँदैन थियो ।
जतिबेला पढाइ सकाएको थिएँ, त्यतिबेला लोकसेवामा मागिएका जति पनि आवेदन पर्ने अवस्था थिएन । फारम भर्ने वित्तिकै नाम निकाल्न सक्ने अवस्था थियो । तर, पनि त्यतातिर लाग्ने मनै लागेन । लाग्यो, आखिर जति कमाए पनि खाने त भातै त हो नि । धेरै कमाउनेले भातको सट्टा अरू केही खाने हैन भन्ने लाग्यो । त्यसैले प्रमुख पेसा गायन नै बनाएँ । युवा हुँदा करिब दश वर्ष नाम चलेको सामाजिक सस्थामा जागिर गरेँ । पैसा मनग्य कमाउथेँ । धनले मान्छेलाई आत्मसन्तुष्टी दिँदो रहेनछ । मादल, गितार र हार्मोनीको धुनले तानेर यहीँ ल्यायो । सोचेँ, मनमा लागेको चाहना पूरा गर्न सकिएन भने मर्ने बेलामा घिडघिडो हुन्छ भन्छन् । त्यसैले म मर्ने बेला कुनै घिडघिडो नराखी मर्ने चाहनाले यहीँ छु । दाजुको होटलमा सघाउनु, फिलिम बनाउनु मेरो समय बिताउने मेसो हो । जीवन बाँच्न पैसा चाहिन्छ । मलाई भने बाँच्न पुग्ने भए हुन्छ । किन वैभबका लागि धेरै कमाउनु भन्ने लाग्छ । भात खान दु:ख छैन । वैभबको जीवनको चाहना राखेको छैन् । जहाँ–जहाँ नाम जोडिए पनि मलाई चिनाउने पेसा गीत–संगीत नै हो । यसले मलाई धेरै सन्तुष्ट बनाएको छ ।
हामी जनताको कलाकार । अहिलेको खुल्ला सञ्चार माध्यममा पछि पर्नुमा वर्तमान राजनीति पनि छ । हिजो हामीलाई खोजी हिँड्ने नेता र दल आज आधुनिक कलाकार खोज्दै सधैँ पैसा कमाएर मनोरञ्जनमा लागेकालाई रोज्छन् । हामी उनीहरूको रोजाइमा पर्दैनौँ । हामीलाई ड्रमसेटलगायत आधुनिक बाजा बजाउँदा फलानो गायक पुँजीवादी भयो भन्थे । मादल मात्र हाम्रो बाजा मान्नेहरू कहाँ छन् ? सबैले खेदेको बुझेका छन् । कतिपय अवस्थामा हामी कलाकार प्रयोग भयौँ । समयसँगै उनीहरूले हामीलाई बिर्सेका छन् । पार्टीमा केही पाइन्छ कि भनेर लाइन लाग्नेको मात्र भ्यालु छ । मेरो आत्मसम्मानले त्यो गर्न दिँदैन । राजनीति गर्नका लागि सांस्कृतिक फाँटहरू बनाएका छन् । उनीहरूको काम पार्टी फेर्दे हिँड्ने र नेताको पछि लाग्ने भएको छ । गायकभन्दा नेता धेरै भएका छन् । त्यो गलत हो ।
जनताले मेरा गीतहरू सुन्न छोडेका छैनन् । त्यसैले म आफ्नो कला, गला, आवाजमा सन्तुष्ट छु । नेताहरू तीनसय साठी डिग्रीको कोणमा फेरिए पनि जनताका लागि गाएका गीत र सिर्जना कहिल्यै फेरिने छैनन् । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ गीत बज्दा आज पनि जनता सँगसँगै गुनगुनाउँछन् । हामीले ‘कोरस’ बनाउँदा भनेका थियौँ– यो विशुद्ध व्यवसायी हुनुपर्छ । पार्टीका पछि लाग्ने हैन । समयसँगै कति टिके, कति टिक्न सकेनन् । सबै घाम जस्तै छर्लंग छ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया