बढ्न थाल्यो उद्योग आकर्षण

दाङ, २९ भदौ । उद्योग व्यवसायतर्फको आकर्षण बढ्न थालेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै रकम लगानी गर्ने भएका कारण पनि यसतर्फ नागरिकको आकर्षण बढेको हो ।
जिल्लामा आव ०६९/७० को एक वर्षमा मात्रै व्यापारिक फर्म ८ सय ८७ र उद्योगतर्फ ९५ साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । व्यापार र उद्योगमा लगानी गरे नाफा सहजै हुने र बैकिङ लगानी पनि सहजै हुने भएकाले नागरिकको आकर्षण बढेको स्थानीयवासी बताउछन ।
घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांकअनुसार हाल जिल्लामा किराना पसल, फेन्सी तथा काँचो कपडा पसल, गल्ला खरिद बिक्री, होटेल, रेस्टुरेन्ट, गेस्टहाउस, छड तथा सिमेन्ट पसललगायत गरी विभिन्न प्रकारका ३ हजार ५ सय ८४ वटा दर्ता रहेका छन् । त्यसैगरी, पछिल्लो समय दाङमा ठूला तारे होटेलदेखि सामान्य रेस्टुरेन्ट खोल्ने लहर नै चलेको छ । दाङका तीन प्रमुख सहर तुलसीपुर, घोराही र लमहीमा ठूला होटेल तथा गेस्टहाउस एकपछि अर्कोगरी खुलेका छन् भने राजमार्गको ठाउँठाउँमा ठूला तथा साना रेस्टुरेन्ट खुल्ने क्रम पनि बढेको छ ।
त्यसैगरी, जिल्लामा तीनवटा ठूला सिमेन्ट उद्योग खुलेका छन् । तीमध्ये एउटा सिमेन्ट उद्योगले आफ्नो उत्पादन बजारमा ल्याइसकेको छ भने दुईवटाले उत्पादन बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
पछिल्लो समयमा मात्रै जिल्लामा दुई दर्जनभन्दा बढी ठूला होटेल खुलेका छन् भने साना होटेल तथा रेस्टुरेन्ट पनि अत्यधिक मात्रामा खुलेका छन् । ठूला होटेल तथा गेस्टहाउस सञ्चालक अन्य व्यापार, व्यवसायभन्दा होटेल तथा गेस्टहाउसमा लगानीअनुसार मुनाफा बढी हुने र मानवीय सहयोग पनि गर्नपाइने भएकाले आफूको आकर्षण बढेको सञ्चालक बताउँछन् भने साना किराना तथा होटेल सञ्चालकको परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने भएपछि व्यापार तथा होटेल रेस्टुरेन्टमा आकर्षण बढेको धारणा छ ।
राज्यले कृषिक्षेत्रमा देखाएको उदासीनता र परम्परागत कृषि प्रणालीबाट जीवनयापन गर्न धौधौ भएपछि आफू व्यापारमा लागेको तुलसीपुरका कस्मेटिक व्यापारी दोर्ण खड्काले बताए । परम्परागत कृषिमा भन्दा व्यापारमा लगानीअनुसार नाफा भएको उनले बताए । त्यस्तै उरहरी–२ सितलपुरमा किराना पसलसहित रेस्टुरेन्ट सञ्चालन गरेकी निर्मला बस्नेतले पनि कृषिक्षेत्रमा परिश्रम गरेअनुसार उत्पादन नहुने भए पनि बजारको समस्याले गर्दा कृषि व्यवसाय छोडी पसलसहित रेस्टुरेन्ट सञ्चालन गर्दै आएको बताए । सानो व्यवसायबाट पनि घरव्यवहार सञ्चालन गर्न राम्रै आम्दानी हुने उनको बुझाइ छ ।

प्रतिक्रिया