केही रुबाइ

Prakash_Angdambe१.
अत्याचार फूल बनेर आए पनि सहिएन
भुवाजस्तो जता हावा त्यतै पनि बहिएन
बेरोजगार सही सिंगो परिचय बाँचेकोमा गर्वित छु
धन्न होलसेलमा सहिद र सभासद् भइएन

२.
यहाँ बर्सेनि ऋण अर्ब–खर्ब हुन्छ
र पनि आफैँमा गर्व हुन्छ
कसले भन्यो जंगबहादुर मर्‍यो भनेर
नत्र कसरी दिनदिनै कोतपर्व हुन्छ ?

३.
लाजलाई खुल्न सिकाउँछु
बाटोलाई डुल्न सिकाउँछु
तिम्रैसामु एकदिन म
पत्थरलाई फुल्न सिकाउँछु ।

४.
लाखौँमाझ एउटा बन्छु तँ के बन्छस् ?
आस्थाहरूको बुट्टा बन्छु तँ के बन्छस् ?
मेरो भ्रम भत्काउँदै ढुंगाले भन्यो
‘म त मूर्ति र देवता बन्छु तँ के बन्छस् ?’

५.
रुन दे मान्छेलाई जिउँदो मान्छे मात्र रुन्छ
भत्काइ दे सारा नियम जसले नयाँ मार्ग थुन्छ
मृत्युलाई सम्झाउँदै जिन्दगी भन्छ
‘म नभए ए ! मृत्यु तेरो पनि मृत्यु हुन्छ’

६.
मरुभूमि पनि नाच्छु भन्दै उफ्रियो
आँसु पनि हाँस्छु भन्दै उफ्रियो
जीवनको महिमा के सुनाए’थेँ मृत्युलाई
‘म पनि अब बाँच्छु भन्दै उफ्रियो’

प्रतिक्रिया