दसैँका लागि टिकट बुकिङ खुला

काठमाडौं, २९ भदौ । दसैँलाई लक्षित गरेर नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघले  मंगलबारदेखि अग्रिम टिकक बुकिङ खुल्ला गरेको छ ।
महासंघको बिहीबारका बसेको बैठकले  दसैँका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो । महासंघका महासचिव डोलनाथ खनालले यात्रुुहरुलाई दसैँको बेला घर जान सजिलो होस् भन्नाका लागि बुकिङ खुला गरिएको जानकारी गराए । उनले सबै काउन्टरलाई टिकट बुकिङ गर्ने निर्देशन दिइसकेको बताए ।
महासंघले पश्चिमतर्फ नयाँ बसपार्क, सुन्धरा, गौशाला तथा पूर्वतर्फ पुरानो बानेश्वर र कोटेश्वरबाट यात्रुलाई अग्रिम बुकिङको लागि टिकट वितरण गर्ने भएको छ । ‘दसैमा यात्रुलाई घर जान सजिलो होस् भन्नाका लागि अग्रिम बुकिङ खुला गरेका हौँ,’ खनालले भने, ‘ टिकट बुकिङ गरेपछि यात्रु सजिलै घर पुग्नेछन् ।’
महासंघले टिकट बुकिङसँगै दसैँमा थप गाडी पनि थप्ने छ । घटनास्थपानको एक हप्ताअघिदेखि नै थप गाडी सञ्चालन हुने भएका छन् । घटनास्थापनाअघि विद्यार्थी र त्यसपछि कर्मचारी तथा व्यापारीको बढी चाप हुने गर्दछ । ‘यात्रुको चापको आधारमा थप गाडी सञ्चालन हुन्छन् । हामीसँग प्रशस्त गाडी छन् । आवश्यकता अनुसार थप्दै जान्छौँ,’ खनालले भने ।
महासचिव खनालले  फूलपातीभन्दा दुई तीन दिनअघि बढी भिड हुने भएकाले अन्य दिनको तुलनामा धेरै गाडी सञ्चालन हुने जानकारी गराए ।  यात्रुले  बिहान ७ देखि साँझ ५ बजेसम्म टिकट काउन्टरबाट टिकट बुकिङ लिने सक्नेछन् । काठमाडौँबाट दसैँको बेला दैनिक २० हजार यात्रु बाहिरिने गर्दछन् । महासंघले टिकट बुकिङ खोल्नुभन्दा अघिदेखि नै केही यात्रुले नयाँ बसपार्कबाट टिकट लिइसकेका छन् ।

प्रतिक्रिया