वैज्ञानिक फोहर व्यवस्थापन सुरु

चितवन, २९ भदौ । नेपालमै पहिलो पटक पूर्वी चितवनको पिठुवा उपस्वास्थ्य चौकीमा अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापन सुरु भएको छ । सरकारी उपस्वास्थ्य चौकीमा वैज्ञानिक फोहर व्यवस्थापन सुरु गरिएको यो पहिलो भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
काठमाडौँका ठूला अस्पतालमा भने यो प्रविधि सुरु गरिएको चिकित्सकले जनाएका छन् । चितवनका अस्पतालहरूमा फोहरको समस्या बढीरहेको र यसले भयावह रूप लिने आसंका बढिरहेका बेला उपस्वास्थ्य चौकीमा नमुना कार्य सुरु भएको हो ।
उपस्वास्थ्य चौकीमा बिरामीको उपचारपछि निस्केका फोहरलाई बाल्ने र कतै फाल्नै नपर्ने गरी व्यवस्थापन सुरु गरिएको हो । त्यस्तै सड्ने, नसड्ने र सङ्क्रमणयुक्त फोहरलाई अलग अलग व्यवस्थापन गरिन थालिएको छ ।
वैकल्पिक फोहर व्यवस्थापनअन्तर्गत कुहिने फोहरलाई खाडलमा पुरेर प्राङ्गारिक मल बनाउने र नकुहिने फोहरलाई सङ्क्रमणमुक्त बनाएर सुन्दर हस्तकला निर्माणमा प्रयोग गर्न उपयोग गरिने छ । अन्य फोहरलाई उचित व्यवस्थापन गरिने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदारले बताए ।
वीर अस्पताल, प्रसूति गृह, कान्ति, नर्भिक र अछामका अस्पतालमा यसलाई अपनाइएको भए पनि जिल्लाको उपस्वास्थ्य चौकीमा भने पहिलो पटक यो व्यवस्था सुरु गरिएको हो ।
दुई वर्षअघि चितवनको गुन्जमानसिंह मेमोरियल अस्पताल पिठुवामा नमुनाका रूपमा प्रयोग गर्दा यो विधि सफल भएको थियो । सरकारी तवरमा सञ्चालनमा आएका खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र, पञ्चकन्या र चैनपुर उपस्वास्थ्यचौकी, बकुलहर अस्पतालसहितमा लागू गर्ने तयारी जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको छ ।

प्रतिक्रिया