माछा उत्पादनमा विशेष योजना

fishवीरगन्ज, २८ भदौ । माछा उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सरकारले पर्सा जिल्लामा अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेको छ ।
यो योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा कृषकलाई अनुदान दिन जिल्लामा करिब ३० लाख बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिनेशप्रसाद रायले बताए । माछा उत्पादनका लागि जिल्लामा यो वर्ष कुल २५ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्ने योजना रहेको छ । उनले भने, ‘यो अभियानमुखी कार्यक्रमलाई माछाको पकेट क्षेत्रमा नै लागू गर्न विशेष प्राथमिकता दिइनेछ ।’
अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माणका लागि पर्साको रामनगरी, तुल्सिवर्वा, मुर्ली र वीरगन्जलाई विशेष प्राथमिकतामा राखिने राय बताउँछन् । ‘नयाँ माछापोखरी निर्माणका लागि प्रतिहेक्टर एक लाखका दरले २५ हेक्टरका लागि २५ लाख रुपियाँ सरकारले अनुदानस्वरूप कृषकलाई उपलब्ध गराउनेछ,’ मत्स्य कार्यक्रमका प्राविधिक सहायक दयाराम हरिजनले भने । माछा उत्पादनसँग सम्बन्धित कृषकलाई माछा उत्पादनसम्बन्धी आवश्यक तालिम दिने र माछा उत्पादन अभिवृद्धिका लागि आवश्यक प्रविधिको खरिदमा पनि अनुदान दिने योजनासमेत रहेको छ ।
‘नयाँ माछापोखरी निर्माणका लागि २१ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ,’ प्राविधिक सहायक हरिजनले भने, ‘कार्यक्रम सञ्चालनका लागि सूचना प्रवाह गर्दा इच्छुक र माछा उत्पादन गर्न सक्ने किसानलाई मात्र अनुदान रकम उपलब्ध गराउने प्रक्रियालाई विशेष ध्यान दिइनेछ ।’
जिल्लामा लागू भएका अभियानमुखी मत्स्य कार्यक्रम तथा पोखरी निर्माण कार्यक्रमलाई बढी व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै पक्षको सहयोग अपरिहार्य भएको उल्लेख गर्दै प्रमुख रायले नयाँ माछापोखरीका लागि जग्गा छनोटदेखि पोखरी निर्माण र माछा उत्पादनसम्मको कार्यको प्रभावकारिताका लागि यसको अनुगमन तथा मूल्यांकन गर्न एक जिल्लास्तरीय टोलीसमेत गठन गरिने बताए ।
कार्यक्रमको प्रभावकारिताका लागि प्राविधिक टोलीको स्थलगत अध्ययन र निरीक्षणका आधारमा उपयुक्त सम्भाव्यता देखिएको योजनालाई मात्र छनोट गर्ने जानकारी पनि उनले दिए । योजना छनोट गर्दा माछा उत्पादनसँग सम्बन्धित दलित, आदिवासी, अपांग, महिला, पिछडिएको समुदाय र दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिइएको पनि उनले बताए ।
पर्सामा हाल सात सय २२ जना कृषकसँग दुई सय ८२ हेक्टर क्षेत्रफलमा करिब आठ सय ४० वटा पोखरी रहेको अनुमान छ । जिल्लामा झन्डै साढे १० हजार मेट्रिक टन उन्नत किसिमको माछा उत्पादन हुने गरेको छ । अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण कार्यक्रमले माछाको उत्पादनमा अत्यधिक वृद्धि भएको छ । उत्पादनमा आएको वृद्धिसँगै वीरगन्ज भन्सार नाकाबाट ताजा माछाको निर्यातमा ६ सय ४१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष ०६८/६९ को तुलनामा गत वर्ष सो वृद्धि भएको हो । अघिल्लो आवमा  तीन करोड ७० लाख ९९ हजार मूल्यबराबरको १० लाख ८७ हजार ४५ किलोग्राम माछा निर्यात भएकामा गत वर्ष त्यसमा वृद्धि भई २७ करोड ५० लाख २९ हजार मूल्यबराबरको ४१ लाख ५२ हजार ४ सय ९८ किलोग्राम माछा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
‘माछाको निर्यातमा आएको वृद्धिसँगै यसबाट राजस्व असुलीमा समेत उल्लेखनीय वृद्धि भएको छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले भने, ‘ताजा माछाको निर्यातबाट गत वर्ष ३२ करोड २२ लाख राजस्व असुली भएको हो ।’ यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब पाँच सय ८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ताजा माछाको निर्यातबाट  पाँच करोड ५२ लाख रुपियाँ मात्र राजस्व असुली भएको थियो ।

प्रतिक्रिया