खेलकुदमा छोटो समयमै प्रभावकारी कैलाली

Sabita-Chaudharyछैटौँ राष्ट्रिय खेलकुदमा कैलालीका विशाल श्रेष्ठले तेक्वान्दोमा स्वर्ण पदक जित्नेमा धेरै तेक्वान्दोकर्मीले कमै सम्भावना देखेका थिए । खेलकुदको उत्कृष्ट पूर्वाधार र चहल पहल नदेखिएको कैलाली पछिल्लो समय नेपाली खेलकुदको अब्बदल जिल्ला मध्ये एकको रूपमा रहेको छ । श्रोत, साधन र सुविधाको दृष्टकोणले एकदमैपछि रहेको कैलालीको विगत त्यत्ति गर्व गर्न लायक छैन । तर, सन्तोषजनक र आशालाग्दो भविश्य बोकेर बसेको छ । सुदूरपश्चिमको कैलाली ।
तामझाम, तडकभडक र खेलकुदमा लगानी सबै कुरामा एकदमैपछि परेको छ, कैलाली । सुदूरपश्चिमको अन्य भौगोलिक तामझामभन्दा फरक रहेको यो जिल्लाको प्रस्ट इतिहास छैन । थुप्रै कुरा अलिखित छन् । यहाँका साँस्कृतिक र जनजीवनको विकास क्रमले फड्को मारेको पनि धेरै भएको छैन । विगतमा यहाँको भू–बनोट पनि उत्कृष्ट मानिएन । जग्गाको मूल्य पनि सस्तो । ४० को दशकदेखि पहाडीयाहरू तराइ झर्ने क्रम तीव्र भएपछि धनगढीको जनसंख्यामा एकाएक वृद्धि भयो । बझांग, बाजुरा, अछाम बैतडी र डडेल्धुराबाट यहाँ ओइरिने क्रम सुरु भयो । सुरुवातमा यहाँ रहनेका लागि खेलकुद खासै चासोको विषय रहेन । यसकारण खेलकुदमा कैलालीको इतिहास नै लेखियो भने पनि दुई या तीन दशकको इतिहास हो ।
नेपालमा प्राचीन इतिहास बाकेको एथलेटिक्स, पुरुष फुटबल, पुरुष भलिबल र बक्सिङले पनि कैलालीलाई लामो यात्रा पार गर्दासम्म छुन सकेन । यसको खासै प्रभाव रहेन । सुरुमा भलिबलको प्रभाव कैलालीमा देखियो । संयोग मान्नु पर्छ चिनियाँ मार्सल आर्ट उसु दक्षिण एसियामा फैलने क्रममा सुरुवात सन् ९० को दशकको अन्त्यमै व्यापक भयो । त्यो व्यापकताको पहिलो चरणमा भने कैलाली अछुतो रहेन । तेक्वान्दोको सुरुवाती चरणले कैलालीलाई छोएन । केही समयपछि गोविन्द बिष्ट र केशव दत्त भट्ट तेक्वान्दोमा देखिए । त्यसपछि दीपक बिष्टको उदय गराउने क्रमममा कैलालीको सबैभन्दा ठूलो भूमिका रह्यो ।
यो जिल्लाले नेपाली खेलकुदलाई धेर थोर गुन नलगाएको होइन । डडेल्धुरामा जन्मिएका र हुर्कीएका नेपाली तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक बिष्ट महेन्द्रनगरसम्म हुँदा भलिबल खेल्थे । उनी २०५२ मा धनगढी पुगेपछि एकाएक तेक्वान्दोमा आवद्ध भए । केशव भट्ट र गोविन्द बिष्ट उनका सुरुवाती दिनका प्रशिक्षक । अहिले देवराज चौधरी, गोविन्द बिष्ट र शेरबहादुर सिंह पुराना तेक्वान्दो कर्मी जिल्ला खेलकुद विकास समिति धनगढीमा कार्यरत ।
२०५७ मा काठमाडांैमा भएको मंगलादेवी राष्ट्रिय महिला लिग फुटबलमा कैलाली दोस्रो भएको थियो । त्यसै, प्रतियोगितामा उत्कृष्ट फरवार्ड घोषित चन्द्रा भण्डारी अहिले पनि नेपाली राष्ट्रिय फुटबल टोलीकी उपकप्तान छिन् । नेपाली महिला फुटबलमा कैलाली अहिले पनि विभागीय टोलीभन्दा बाहिरको सबैभन्दा अब्बदल नै मानिन्छ । यो अब्बल वर्तमानको सुरुवात १२ वर्षभन्दा अघि नै भएको थियो ।
सन् २००० काठमाडांैमा पहिलो दक्षिण एसियाली उसु च्याम्पियनसिप भएको थियो । नेपाली दबाब रहेको उसुमा श्याम बिष्टले स्वर्णपदक जिते । रतन खातीले कांश्य पदक जिते । त्यसपछि सर्मीला चौधरी नेपाली उसुमा उदाइन । उनीसँगैका उदाएकी किरण चौधरी ।
विष्णु चौधरी, सहदेव बिष्ट र भागिराम बखेरिया कुनै समयमा नेपाली भलिबलमा परिचित अनुहार । भलिबलमा लागेर एशियन खेलकुदमा सहभागिता जनाएका सहदेवलाई धनगढीमा पहिलो पुस्ताका खेलाडीको रूपमा हेरिएको छ ।

प्रतिक्रिया