कांग्रेस बन्दै राजेश

Rajesh-Hamalकाठमाडौं, २७ भदौ । कांग्रेस चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाललाई पार्टी प्रवेश गराउन लागिपरेको छ । संविधानसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने गरी अभिनेता हमाललाई पार्टीमा भित्र्याउन कांग्रेस लागिपरेको हो । कांग्रेस प्रवेशका लागि हमालले कांग्रेस नेतृत्वसँग विभिन्न चरणमा छलफलसमेत चलाइसकेका छन् ।
रिलको दुनियाँमा राजनीतिक भाषण छाट्ने हमाल पार्टी प्रवेशसँग रियल लाइफमा पनि राजनीतिज्ञ हुने पक्कापक्कीजस्तै भएको छ । कांग्रेस सभापति सुशील कोइरालासँगको लामो छलफलपछि हमाल कांग्रेसमा प्रवेश गर्न लागेको कोइरालाका निजी सचिव लक्ष्मण ढकालले सौर्यलाई बताए । चलचित्र क्षेत्रका ‘हस्ती’हरू राजनीतिक दलमा प्रवेश गरिरहेका बेला हमालले पनि यो यात्रालाई निरन्तता दिन लागेका हुन् ।
हमाल केही दिनमै कांग्रेस प्रवेश गर्न लागेको कांग्रेसले जनाएको छ । ‘लामो छलफलपछि हमाल कांग्रेसमा प्रवेश गर्ने निश्चित भएको हो,’ कोइरालाका निजी सचिव ढकालले भने, ‘अब छिट्टै औपचारिक कार्यक्रम गरी उहाँलाई कांग्रेसमा भित्र्याउने कार्यक्रम छ ।’
चुनावमा हमाल गृहजिल्ला पाल्पाबाट चुनाव लड्ने चर्चा चले पनि उनको नाम भने तीनवटै निर्वाचन क्षेत्रबाट सिफारिसमा परेको छैन । उनलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा टिकट दिने या समानुपातिकबाट सिफारिस गर्नेबारे कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् ।
पार्टी प्रवेश गराउनुअघि नै हमाललाई सके प्रत्यक्ष नभए समानुपातिकमा उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । ढकालले भने ‘उहाँलाई कहाँबाट कसरी सभासद् बनाउने भन्नेमा सभापतिसँग छलफल भएको छ र सोहीअनुरूप सभापतिले अन्य नेतासँग छलफल गरिरहनुभएको छ ।’
कोइरालानिकट स्रोतका अनुसार हमाल चर्चित र बौद्धिक भएका कारण उनलाई प्रत्यक्षबाट चुनाव लडाउनुपर्ने भन्दै अन्य नेताहरूसँग सभापतिले छलफल गरिरहेका हुन् । अन्य नेताले भने हमाललाई प्रत्यक्षको उम्मेदवार बनाउँदा लामो समयदेखि पार्टीमा क्रियाशील नेताहरूको अवमूल्यन हुने तर्क गर्दै समानुपातिकमा उम्मेदवार बनाउन कोइरालालाई सुझाएको एक नेताले बताए ।
हमालका स्वकीय सचिव चिरञ्जीवीले कांग्रेस प्रवेशका लागि सभापति कोइरालासँग विभिन्न चरणमा छलफल भएको जानकारी दिँदै हमाल पनि पार्टी प्रवेशमा सकारात्मक रहेको स्वीकार गरे । ‘राजेश हमाललाई पार्टीले नवलपरासी २ र काठमाडौं ८ मध्ये एउटा क्षेत्र रोज्न आग्रह गरेको छ,’ उनले भने, ‘केही दिनमा यसको टुंगो लाग्नेछ ।’ उनका अनुसार हमालले कांग्रेस नेतृत्वसमक्ष मनोनीत कोटामा सभासद् बनाउन आग्रहसमेत गरेका थिए ।
चलचित्र क्षेत्रमा बौद्धिक व्यक्तिका रूपमा परिचित हमाल अंग्रेजी साहित्यमा पनि राम्रो दख्खल राख्ने अभिनेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया