पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

काठमाडौं, २७ भदौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् । मंगलबारदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।  उनीहरूले मूल्य फिर्ताको माग गदै संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।  बुधबार  बसेको विद्यार्थी संगठनहरूको बैठकले मूल्यवृद्धि फिर्ताको माग गदै १ असोजसम्मका लागि पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघलगायत १४ विद्यार्थी संगठनहरू मूल्य वृद्धिको विरोधमा विहीबारबाट आन्दोलित भएका हुन् ।
चाडपर्वको मुखमा सरकारले  सर्वसाधारणलाई असर पर्ने गरेर मूल्य वृद्धि गरेको भन्दै फिर्ताको माग गदै आन्दोलन थालिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनका  अनुसार  २७ र २८ भदौमा मुलुक भरीका क्याम्पसअगाडि प्रदर्शन गर्ने र  २८ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको छ । ३० र  ३१ भदौ तथा १  असोजमा  मुलुक भरीका पेट्रोलपम्प बन्द गरिनेछ ।
यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा  सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विद्यार्थी आन्दोलन गरेपछि फिर्ता लिएको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको निर्णय तत्काल फिर्ता नलिए थपआन्दोलन गर्ने प्रवक्ता लामिछानेले बताए । बैठकले पूर्वाञ्चल विश्व विद्यायलयको पठनपाठन सुचारूसमेत गराउन माग गरेको छ ।
यसअधि मूल्य वृद्धिको विरोधमा विद्यार्थीले बुधबार बिहान  राजधानीका विभिन्न क्याम्पसमा  प्रदर्शन गरेका छन् । विद्यार्थीले बिहान ८ बजे रत्न राज्यलक्ष्मी, त्रिचन्द्र, नेपाल ल क्याम्पस, सरस्वतीलगायत क्याम्पसमा  प्रदर्शन गरेका थिए ।
सरकारले मंगलबार रातिदेखि पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ डिजल र मट्टितेलमा तीन रुपियाँ र हवाई इन्धनमा सात रुपियाँ प्रति लिटर बढाएको हो । मुल्यवृद्धि  भएसँगै अबदेखि पेट्रोलको मूल्य प्रति लिटर एक सय ३० रुपियाँ, डिजेल र मट्टितेलको एक सय ३ रुपियाँ र हवाइ इन्धनको मूल्य एक सय ३७ रुपियाँ पुगेको छ । यसअधि सरकारले साउनमा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया