अझै चौबीस प्रतिशत गरिबी

Garibiकाठमाडौं, २६ भदौ । नेपालको गरिबी २४ प्रतिशत रहेको छ । राष्ट्रिय योजना योजनाका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यले मंगलबार सार्वजनिक गरेको सहस्राब्दी विकास लक्ष्य प्रतिवेदनमा नेपालको गरिबी २३ दशमलव ८२ प्रतिशतमा झरेको उल्लेख छ ।
सरकारले सन् २०१५ सम्ममा नेपालको गरिबी २१ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसअघि सन् २०१० मा सार्वजनिक गरिएको प्रतिवेदनमा गरिबी २५ दशमलव ४ प्रतिशत थियो । प्रतिदिन एक्काइस सय क्यालोरी खाद्य उपयोग गर्नसक्ने आय भएका व्यक्तिलाई आधार मानी गरिबीको मापदण्ड तोकिएको छ ।
नेपालमा गरिबी घट्नुका प्रमुख कारणमा विप्रेषणलाई आधार मानिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, प्राथमिक शिक्षा भर्ना, लैंगिक समानता र महिला सशक्तीकरण, शिशु मृत्युदर, सामाजिक सेवा, मातृस्वाथ्य, एचआइभी एड्स, औलो तथा अन्य रोग नियन्त्रणमा लक्ष्यअनुसार उल्लेखनीय प्रगति भएको पनि  सो प्रतिवेदनमा उल्लेख छ ।उपाध्यक्ष डा शाक्यले १३औँ योजनाको आधारपत्र आयोगले तयार गरी उपलब्धि हासिल नभएका क्षेत्रलाई योजनामा प्राथमिकता दिइने धारणा पनि सो अवसरमा राखे । आर्थिक वृद्धिदर बढाउन नसक्नु र नेपालको शैक्षिक बेरोजगार मुख्य चुनौती रहकोमा उनले जोड दिए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि जेमी मेक्गोड्किले सहस्राब्दी विकास लक्ष्यको उपलब्धि प्राप्त हुनु सराहनीय हो भन्दै जलवायु परिर्वतनलगायत अन्य लक्ष्य प्राप्त गर्न सरकार र विकासका साझेदारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
मुख्यसचिव लीलामणि पौड्यालले प्राप्त उपलब्धिलाई दिगो बनाउनुपर्ने तथा गाउँ र सहरबीचको आर्थिक समानतामा जोड दिनका लागि साधन र स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताए । राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीले आठ सहस्राब्दी विकास लक्ष्यमध्ये केही सफलता प्राप्त हुनु उल्लेखनीय भएको बताउँदै लैंगिक विभेद र महिला हिंसाका घटनामा सुधार गर्नुपर्नेमा जोड दिए ।
प्रतिवेदन निर्माता टोलीका प्रमुख एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले ग्रामीण र सहरी क्षेत्रमा गरिबीको दरमा ठूलो खाडल रहेकाले समावेशी विकासका कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया