दैनिक दुई हजार लिटर दुध नोक्सान

गुल्मी : एक महिनादेखि मोटरबाटो अवरुद्ध भएपछि बजारमा दुध पुर्‍याउन नसक्दा व्यावसायिक रूपमा दुध उत्पादन गर्दै आएका गुल्मी दिगामका किसानको दुध त्यत्तिकै नोक्सान भएको छ ।
दिगामको पिपलनेटादेखि तल रहेको मोटरबाटोमा पहिरो गई यातयात अवरुद्ध हुँदा गत साउन महिनादेखि उत्पादित दुध बजार पुर्‍याउन नसकी गाउँमै खेर गएको हो । शृंगा, दिगाम, खज्र्याङ सडकखण्डको ठूलो पहिरो भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध हुँदा दैनिक एक हजार ८ सय लिटर दुध खेर गएको दिगाम गाविस सचिव लीलबहादुर सिँजालीले बताए । दिगामको वडा नं ४, ५, ८ र ९ का जनताले व्यावसायिकरूपमा दैनिक एक हजार ५ सय लिटर दुध उत्पादन गर्छन् भने हर्दिनेटामा दैनिक ३ सय लिटर दुध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. हरिबहादुर कुँवरले बताए । सो दुध गाउँको बाटो हुँदै पाल्पाको श्रीनगर डेरीमा लैजाने गरेको भए पनि अहिले बाटो बन्द भएकाले किसानलाई समस्या भएको कुँवर बताउँछन् ।
दुधका साथै त्यहाँ उत्पादित तरकारीसमेत त्यत्तिकै खेर जाने गरेको गाविस सचिव सिँजालीले जानकारी दिए । दिगामका लागि ठूलो पहिरो ठूलो समस्याको विषय भएको भन्दै उनले गाविसको रकम बर्सेनि त्यही पहिरो सोहोर्दैमा ठिक्क हुने गरेकाले केन्द्रीय बजेट बिना दीर्घकालीन समस्या समाधान गर्न नसकिने बताए । दुध, तरकारी, फलफूल उत्पादनमा जिल्लाकै अग्रणी गाविसमा बजार लैजाने समस्या हुन थालेपछि किसान निरुत्साहित हुँदै गएका छन् ।वर्षात्भरि दैनिक पहिरोले सडक अवरुद्ध पारेपछि स्थानीयवासीले सास्ती खेप्नुपर्ने र राज्यको रकम बालुवामा पानी खनाएजस्तो हुने भएकाले दिगामको ठूलो पहिरोको दीर्घकालीन समस्या खोज्न जिल्लास्तरीय राजनीतिक संयन्त्रले बेलैमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया