दोस्रो संविधानसभा पनि ‘जम्बो जेट’

4-dal-meeting-2012-05-09-56काठमाडौं, २१ भदौ । पुरानै सिट संख्या राख्ने सहमति पछि अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी नेपाल संविधान सभाको दोस्रो चुनावमा सहभागी हुन तयार भएको छ । राजधानीमा आज (शुक्रबार) भएको उच्चस्तरीय राजनीतिक समिति र समाजवादी पार्टीबीच भएको वार्तामा सभासद् संख्या ६ सय १ राख्ने सहमति भएको हो । समिति र समाजवादी पार्टीबीच पाँच बुँदे सहमति भएको छ । राजनीतिक समितिले राष्ट्रपति समक्ष सिफारिस गरेको यस अघिको आफ्नो ४ सय ९१ सभासद संख्या राख्ने सहमतिलाई पुन: बृद्धि गरेर पुरानैमा पुरार्‍याईएको हो । समितिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग ५ सय ८५ सभासद संख्या बनाउने सहमति गरेको थियो । सो अडानमा पनि बस्न नसकेको राजनीतिक समितिले समाजवादी पार्टीसँग पुन: पुरानै ६ सय १ सभासद संख्या राख्ने सहमति गरेको छ । ‘बाधा अड्काउ फुकाउ आदेशमा जुनसुुकै कुरा लेखिएको भए तापनि संविधान सभाको दोस्रो निर्वाचनका लागि संविधान सभाको सदस्य सङ्ख्या, अनुपात र प्रतिनिधित्व २०६४ सालकै रहने छ,’ सहमतिको पहिलो बुँदामा उल्लेख छ । सहमति अनुसार निर्वाचन सुनिश्चित गर्न विघटित संविधान सभाका सभासद रहेका सबै दलहरूको सर्वदलीय बैठक आयोजना गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । विगत संविधान सभामा भएका सहमति समेतका आधारमा आवश्यक सहमति कायम गर्न अधिकतम प्रयत्न गर्ने जनाएका उनीहरुले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा सहभागी गराउने प्राविधिक तयारी गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया