‘फाईनल’ दिनको उपत्याका बन्द फिर्ता

maobadi flagकाठमाडौं, १९ भदौ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भदौ २६ गतेको उपत्यका बन्द फिर्ता लिएको छ ।
नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज (बुधबार) बसेको मोर्चाको बैठकले साफ च्याम्पियनशीपको फाईनल खेल परेकाले भदौ २६ गतेको उपत्यका बन्द फिर्ता लिने निर्णय गरेको हो । बैठक पछि जारी विज्ञप्ति अनुसार उपत्यका बन्द भदौ २७ गते गरिने छ ।
भदौ २६ गते बेलुका मोटर साईकल र्‍याली गर्ने निर्णय पनि मोर्चाको छ । मोर्चाले असोज १ गते मध्य पहाड बन्दको आह्वानलाई पनि भदौ ३० गते सारेको छ ।
असोज एक गते विश्वकर्मा दिवस परेकाले बन्दको कार्यक्रममा हेरफेर गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरी असोज २ गतेको विरोधसभा जनकपुरको साटो सिरहाको लहानमा सारेको नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
मोर्चाले चुनावमा नेपाली सेना परिचालन गर्ने विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले चार राजनीतिक शक्तिको उक्साहटमा सरकारले निर्वाचन सुरक्षाका नाममा सेना परिचालन गर्ने रणनीति बनाउन लागेको जनाएको छ ।
भारतीय सुरक्षाकर्मी प्रवेश सम्बन्धमा जानकारी माग
यसैबीच, नेकपा माओवादीसहितको ३३ दलीय मोर्चाले भारतीय सुरक्षाकर्मी नेपाल भित्र प्रवेश गरेर दुईजना व्यक्ति पक्राउ गरेको भन्ने समाचार प्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
‘हालै दुई जना भारतीयहरुलाई गिरफ्तार गर्ने नाममा नेपालको सार्वभौमिकता विरुद्ध भारतीय सुरक्षाकर्मीहरुले नेपाली भूमिमा प्रवेश गरेको घटनाबारे समाचार माध्यमहरुमा प्रकाशित समाचारहरु प्रति हाम्रो ध्यान आकर्षित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले सो घटनाको सन्दर्भमा नेपाल सरकारको मौनताले झन् रहस्यमय बनेको आरोप लगाएको छ । उक्त घटनाको यथार्थता सार्वजनिक गर्न पनि माग गरिएको छ । दुई आतंकवादी नेपाली भूमिमा पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले जनाउंदै आएका छन् ।

प्रतिक्रिया